नाइमा नेपाल मोबिलिटि एक्स्पो २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

  • Technology Khabar | २२ असार २०८३, सोमबार
नाइमा नेपाल मोबिलिटि एक्स्पो २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

काठमाडौं ।

नाइमा नेपाल मोबिलिटि एक्स्पो २०२६ यही ११ देखि १६ अगस्ट २०२६ अर्थात् २०८३ साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।

नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी एक्सपोका रूपमा आयोजना हुने यस प्रदर्शनीमा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च रहनेछन्। एक्सपोमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे, कमर्सियल भेहिकल, इलेक्ट्रिक तथा हाइब्रिड मोबिलिटी सोलुसन, प्रविधि, सेवा तथा मोबिलिटीसम्बन्धी अन्य उत्पादनहरू समेटिनेछन्।

पत्रकार सम्मेलनमा नाइमा अध्यक्ष रितु सिंह वैद्यले नाइमा एक वर्षअघि नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरू समेट्ने २१ सदस्य कम्पनीबाट सुरु भएको र हाल ३६ प्रमुख सदस्य कम्पनीमा विस्तार भएको जानकारी दिइन्।

उनका अनुसार यो वृद्धि उद्योग क्षेत्रले नाइमाप्रति देखाएको विश्वास, एकीकृत प्लेटफर्मको आवश्यकता र नेपालको मोबिलिटी क्षेत्रको जिम्मेवार आवाजका रूपमा नाइमाको बढ्दो भूमिकाको स्पष्ट प्रतिबिम्ब हो।

कार्यक्रममा नाइमाका बोर्ड सदस्य सन्दीप शारडाले पनि आफ्नो धारणा राख्दै निजी क्षेत्र राष्ट्रको अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भ भएको बताए। उनले यस्ता प्रदर्शनीहरूले व्यवसायिक गतिविधि विस्तार, लगानीको वातावरण निर्माण, रोजगारी सिर्जना र समग्र आर्थिक गतिशीलता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गरे।

त्यस्तै एक्सपोका प्रमुख विशेषताबारे जानकारी दिँदै नाइमा नेपाल मोबिलिटि एक्स्पो का संयोजक गौरव शारडाले गत वर्षको प्रिमियम अनुभवलाई अझ परिस्कृत गर्दै सन् २०२६ को संस्करणलाई थप व्यवस्थित, सहज, समावेशी र आगन्तुकमैत्री बनाइने बताए।

उनले यस वर्षको एक्सपोलाई नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको एक महत्वपूर्ण र ऐतिहासिक कार्यक्रम बनाउन नाइमाले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए।

समिति संयोजक शारडाले मनसुनलाई ध्यानमा राख्दै एक्सपोमा विशेष व्यवस्था गरिएको बताए। उनले अपाङ्गता भएका व्यक्तिहरूका लागि समेत सहज र उपयुक्त हुने गरी प्रदर्शनीस्थलको व्यवस्थापन गरिने जानकारी दिए।

आगन्तुकहरूको सहजताका लागि नेपाल पुलिस क्लबमा पार्किङ सुविधा उपलब्ध हुनेछ। पठाओले राइड पार्टनरका रूपमा एक्सपो अवधिभर भृकुटीमण्डप आउने–जाने यात्राका लागि छुटसहितको राइड सेवा उपलब्ध गराउनेछ भने युनियन पेले क्यूआर पार्टनरका रूपमा युनियन पे क्यूआर प्रयोग गरी टिकट खरिद गर्दा क्यासब्याकसुविधा उपलब्ध गराउनेछ।

नाइमा नेपाल मोबिलिटि एक्स्पो २०२६ लाई ग्लोबल आईएमई बैंकले को–स्पोन्सरका रूपमा र रेड बुलले पावर्ड बाई स्पोन्सरका रुपमा बेभरेज पार्टनरका रूपमा सहयोग गरेका छन्।

प्रकाशित: २२ असार २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार