काठमाडौं ।
एआईको तीव्र विस्तारले विश्वभर विद्युत, पानी र जमिन स्रोतमा बढ्दो दबाब सिर्जना गरिरहेको छ। एआईलाई सञ्चालन गर्ने डाटा केन्द्रहरूले सन् २०३० सम्म ९४५ टेरावाट-घण्टा विद्युत खपत गर्ने अनुमान गरिएको संयुक्त राष्ट्र विश्वविद्यालयको प्रतिवेदनले चेतावनी दिएको छ।
पानी, वातावरण र स्वास्थ्यसम्बन्धी संयुक्त राष्ट्र विश्वविद्यालय संस्थानको प्रतिवेदनमा एआईको वातावरणीय प्रभाव “व्यवस्थित रूपमा गलत मापन” भइरहेको उल्लेख गरिएको छ, किनकि अधिकांश मूल्याङ्कनहरू मुख्यतः कार्बन उत्सर्जनमा केन्द्रित छन् र पानी तथा जमिनमा पर्ने प्रभावलाई बेवास्ता गर्छन्।
प्रतिवेदनअनुसार सन् २०३० सम्म एआईसँग सम्बन्धित डाटा केन्द्रहरूको पानी खपत ९.३ ट्रिलियन लिटर पुग्न सक्छ, जुन उप-सहारा अफ्रिकाका १.३ अर्ब मानिसको आधारभूत वार्षिक पानी आवश्यकतासँग बराबर हो।
त्यस्तै, ती केन्द्रहरूले प्रयोग गर्ने जमिन १४,५०० वर्ग किलोमिटरभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ, जुन जकार्ता महानगरीय क्षेत्रको आकारको करिब दोब्बर हो।
संस्थानका निर्देशक कावेह मदानीले “यो प्रतिवेदन एआईविरुद्धको होइन” भन्दै एआईको जिम्मेवार प्रयोग र त्यसका नकारात्मक प्रभाव कम गर्न अग्रिम कदम चाल्न आग्रह गरेका छन्।
टेलिग्राफीका अनुसार प्रतिवेदनमा सन् २०२५ मा विश्वभरका डाटा केन्द्रहरूले करिब ४४८ टेरावाट-घण्टा विद्युत खपत गरेको उल्लेख छ। यदि ती केन्द्रहरूलाई एउटा देश मानिने हो भने तिनीहरू विश्वको ११औं ठूलो विद्युत उपभोक्ता हुनेछन्।
सार्वजनिक बहस मुख्यतः ठूलो एआई मोडेललाई प्रशिक्षण दिन आवश्यक ऊर्जामा केन्द्रित रहँदै आएको छ। प्रतिवेदनअनुसार च्याटजीपीटीले मात्रै दैनिक करिब २.५ अर्ब अनुरोध प्रशोधन गर्छ र यसका लागि वार्षिक करिब ३८३ गिगावाट-घण्टा विद्युत आवश्यक पर्छ।
एआईका विभिन्न कार्यमा वातावरणीय प्रभाव निकै फरक हुने प्रतिवेदनले जनाएको छ। सामान्य पाठ वर्गीकरणको तुलनामा एउटा एआईद्वारा सिर्जित तस्बिर बनाउन करिब १,४५० गुणा बढी ऊर्जा लाग्न सक्छ भने छोटो भिडियो सिर्जना गर्न २ लाख स्प्याम वर्गीकरण बराबरको विद्युत खपत हुन सक्छ।
प्रतिवेदनले पारदर्शिता, दक्षता, वातावरणीय न्याय, जीवनचक्र जिम्मेवारी, विश्वव्यापी सहकार्य र दिगो प्रयोगमा आधारित जिम्मेवार एआई प्रणाली विकास गर्न आग्रह गरेको छ।
प्रकाशित: २१ असार २०८३, आईतवार