आईटीयूको सूचना प्रविधि सूचकांकमा नेपालको समग्र स्तर क्षेत्रीय औसतभन्दा निकै दयनीय

  • Technology Khabar | १८ असार २०८३, बिहीबार
आईटीयूको सूचना प्रविधि सूचकांकमा नेपालको समग्र स्तर क्षेत्रीय औसतभन्दा निकै दयनीय

काठमाडौं ।

सूचना प्रविधि सूचकांकमा नेपालको स्तर क्षेत्रीय औसतभन्दा निकै कम रहेको पाइएको छ।

अन्तरराष्ट्रिय दूरसञ्चार युनियन आईटीयूले हालै प्रकाशन गरेको २०२६ को आईसीटी डेभलपमेन्ट इन्डेक्स अर्थात् सूचना प्रविधि सूचकांकमा नेपालको स्तर यस्तो पाइएको हो। अहिले प्रकाशित तथ्याङ्क २०२५ को आँकडामा आधारित हुन्छ।

सूचकांकको ओभरअल अर्थात् समग्र विधाको एशिया प्रशान्त क्षेत्रको औसत सूचकांक ८० रहेको छ भने नेपालको अंक ६७.५ मात्र छ। यसमा नेपालले आधारभूत रेखासमेत भेट्न सकेको छैन।

यसप्रकारको तथ्याङ्क सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तर्फबाट नियामक निकाय नेपाल दूरसञ्चार प्राधिरकणले बर्सेनि आईटीयूलाई पठाउने गरेको छ। यसमा २०२३ को कुनै तथ्याङ्क उपलब्ध छैन भने २०२४ को केही तथ्याङ्क मात्र छ।

यसैगरी युनिभर्सल कनेक्टिभिटीको समग्रमा नेपालको अंक ५२.५ छ जबकी एशिया प्रशान्त क्षेत्रको औसत ७५.२ रहेको छ।  इन्टरनेट प्रयोगकर्ताको आँकडामा पनि नेपाल निकै पछाडि छ। एशिया प्रशान्त क्षेत्रको औसत ७६.७ रहेकोमा नेपालको अंक ४८.८ मात्र छ। यो पनि धेरै कम हो।

इन्टरनेट पहुँच भएका घरधुरीको एशिया प्रशान्त क्षेत्रको औसत ८१ रहेकोमा नेपालको अंक ४२.४ अर्थात् झण्डै आधामात्रै छ।

मोबाइल ब्रोडब्याण्डको पहुँचमा भने नेपाल एशिया प्रशान्त क्षेत्रको औसतभन्दा झिनो अंकले मात्र पछाडि छ। एशिया प्रशान्त क्षेत्रको औसत ६७.८ रहेकोमा नेपालको अंक ६६.४ छ।

तुलनात्मक रुपमा हेर्दा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या २०२४ मा ४६.३ रहेकोका अहिलेको तथ्याङ्कमा २.५ ले बढेर ४८.८ पुगेको छ। यस्तै इन्टरनेट पहुँच भएका घरधुरीको सङ्ख्या २०२४ मा ४०.२ रहेकामा हाल २.२ ले बढेर ४२.४ मा पुगेको छ।

मोबाइल ब्रोडब्याण्ड पहुँचको आँकडा भने २०२४ को तुलनामा पहिरो खसेजस्तै छ। २०२४ मा ९९.६ रहेकोमा हाल ३३.२ को विशाल गिरावट सहित क्षेत्रीय औसतभन्दा पनि तल पुगेको छ।

यसरी हेर्दा नेपालका आईएसपीसहितका दूरसञ्चार सेवा प्रदायकहरुले आफूहरुले अत्याधुनिक प्रविधिसहितको सेवा उपलब्ध गराएको दावी गरे पनि अन्तरराष्ट्रिय मानक भेट्न भने अझै संघर्ष गर्नुपर्ने देखिएको प्रस्ट हुन्छ।

प्रकाशित: १८ असार २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार