काठमाडौं ।
फोर्डले एआईले अपेक्षित गुणस्तर दिन नसकेपछि अनुभवी अनुभवी इन्जिनियरहरूलाई पुनः नियुक्त गरेको छ।
फोर्डका अधिकारीहरूका अनुसार कम्पनीले ३५० जना अनुभवी इन्जिनियरलाई पुनः नियुक्त गरेको हो। तीमध्ये केही फोर्डका पूर्वकर्मचारी हुन् भने केही आपूर्तिकर्ता कम्पनीहरूमा कार्यरत थिए। कृत्रिम बुद्धिमत्ता (एआई) र स्वचालित प्रणालीहरूले अपेक्षित गुणस्तर दिन नसकेपछि उनीहरूलाई पुनः ल्याइएको हो।
ब्लूमबर्गका अनुसार फोर्डका प्रमुख सञ्चालन अधिकृत कुमार गलहोत्राले पत्रकारहरूसँग कुरा गर्दै कम्पनीले स्वचालित गुणस्तर परीक्षण प्रणालीमा बढ्दो रूपमा निर्भर गरेको भए पनि त्यसबाट निराशाजनक नतिजा आएको बताए। त्यसपछि कम्पनीले प्राविधिक विशेषज्ञहरूलाई पुनः नियुक्त गरेको र उनीहरूले कुनै पार्ट्स उत्पादन केन्द्रमा पुग्नुअघि नै सम्भावित समस्या पहिचान गर्ने काम गरिरहेको उनले बताए।
फोर्डका भेहिकल हार्डवेयर इन्जिनियरिङ उपाध्यक्ष चार्ल्स पुनले पनि डिजाइनसम्बन्धी आवश्यकतामा एआईलाई मात्रै प्रयोग गर्दा उच्च गुणस्तरको उत्पादन प्राप्त हुन्छ भन्ने कम्पनीको धारणा गलत सावित भएको बताए।
यद्यपि फोर्डले एआई योजना भने त्यागेको छैन। कम्पनीले पुनः नियुक्त गरिएका ‘ग्रे बियर्ड’ इन्जिनियरमार्फत युवा कर्मचारीलाई तालिम दिनुका साथै एआई उपकरणलाई पुनः सुधार गर्ने काम गरिरहेको जनाएको छ।
फोर्डका प्रमुख कार्यकारी अधिकृत जिम फार्लीका अनुसार यस कदमले वारेन्टी र रिकलबापतको खर्च घटाउन मद्दत गरेको छ, जसबाट कम्पनीले लागतमा सयौं मिलियन डलरको लाभ पाएको छ। कम्पनीले यसै साता सार्वजनिक भएको जेडी पावर इनिसियल क्वालिटी सर्वेक्षणमा मुख्यधारका ब्रान्डमध्ये पहिलो स्थान हासिल गरेको दावी पनि गरेको छ।
प्रकाशित: १५ असार २०८३, सोमबार