काठमाडौं ।
मोटोरोलाले गत अप्रिलमा मोटो प्याड ६० प्रो लन्च गरेको थियो। एक वर्ष भन्दा बढी समय पछि, लेनोभोको स्वामित्वमा रहेको ब्रान्डले मोटो प्याड ६० प्रोको उत्तराधिकारी मोटो प्याड ७० प्रो अनावरण गरेको छ।
मोटोरोला मोटो प्याड ७० प्रोमा स्न्यापड्रागन ८एस जेन ४ एसओसी, ८ जीबी सम्मको र्याम र २५६ जीबी स्टोरेज समावेश गरिएको छ। डिभाइसले एन्ड्रोइड १६ मा चल्दछ र मोटोरोलाले २०३० सम्म सुरक्षा अपडेटहरूका साथै एन्ड्रोइड १७ र १८ मा अपग्रेड प्रदान गर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
मोटो प्याड ७० प्रोले १२० एफपीएस गेमिङलाई समर्थन गर्नुका साथै उपयुक्त स्मार्टफोन, ट्याब्लेट र पीसीहरूमा निर्बाध जडान र क्रस–डिभाइस फाइल सेयरिङ सक्षम बनाउने स्मार्ट कनेक्टको साथ आएको मोटोरोलाले बताएको छ।
मोटो प्याड ७० प्रोमा १४४हर्ज रिफ्रेस रेट, १२–बिट कलर डेप्थ, ८०० निट्स एचबीएम ब्राइटनेस र डल्बी भिजन सपोर्ट गर्ने १३ इन्च ३.५के डिस्प्ले समावेश गरिएको छ। तर, मोटोरोलाले प्यानल एलसीडी हो वा एएमओएलईडी हो भन्ने कुरा खुलाएको छैन।
मोटो प्याड ७० प्रोमा अगाडि र पछाडि एक–एक गरी दुई क्यामराहरू रहेका छन्। पछाडिको क्यामराले १३ मेगापिक्सेलको सेन्सर प्रयोग गर्दछ भने अगाडिको क्यामराले ८ मेगापिक्सेलको सेन्सर प्रयोग गर्दछ।
ट्याब्लेटमा ६८ वाट पावर एडाप्टरको साथ आउने र ४५वाट चार्जिङ सपोर्टसहितको १०,२०० एमएएच ब्याट्री रहेको छ। मोटो प्याड ७० प्रो बक्समा मोटो पेन प्रो स्टाइलस उपलब्ध भए तापनि स्न्याप–अन किबोर्ड छुट्टै बिक्री गरिने बताइएको छ।
मोटोरोला मोटो प्याड ७० प्रोका अन्य हाइलाइटहरूमा डल्बी एटमसको साथ क्वाड जेबीएल स्पिकरहरू, २टीबी सम्म स्टोरेज विस्तारको लागि माइक्रोएसडी कार्ड स्लट, पीसी मोड, ब्लुटुथ ६.० र वाई–फोई ७ समावेश छन्। तर ट्याब्लेटमा एलटीई कनेक्टिभिटी उपलब्ध नभएको उल्लेख गरिएको छ।
मोटो प्याड ७० प्रो ६.२ एमएम पातलो र मेटल बडीको साथ ५८९ ग्राम तौल रहेका छ। यो ट्याब्लेट प्यान्टोन टाइटन रङ्गमा मात्र आउने बताइएको छ।
साथै ट्याब्लेटमा ८जीबी/१२८जीबी र ८जीबी/२५६जीबी गरी दुई मेमोरी विकल्पहरूमा उपलब्ध हुनेछन्। ट्याब्लेटको ८जीबी/१२८जीबीको मूल्य ३६,९९९ भारतीय रुपैयाँ र ८जीबी/२५६जीबीको मूल्य ३९,९९९ भारतीय रुपैयाँ कायम गरिएको छ। स्न्याप–अन किबोर्ड बन्डलको रूपमा खरिद गर्दा ८जीबी/२५६जीबी मोडेलको मूल्य ४५,९९९ भारतीय रुपैयाँ पर्नेछ।
मोटोरोला मोटो प्याड ७० प्रो आगामी महिना भारतमा मोटोरोलाको आधिकारिक वेबसाइट, फ्लिपकार्ट र देशभरका खुद्रा स्टोरहरू मार्फत बिक्रीको लागि उपलब्ध हुनेछ।
प्रकाशित: १५ असार २०८३, सोमबार