लिओ स्याटेलाइट कम्पनीहरूको नयाँ लबी समूह गठन, स्पेसएक्स अटेन

  • Technology Khabar | १४ असार २०८३, आईतवार
लिओ स्याटेलाइट कम्पनीहरूको नयाँ लबी समूह गठन, स्पेसएक्स अटेन
एआईमार्फत् बनाइएको सांकेतिक तसब्िर

काठमाडौं ।

अमेजन, इरिडियम कम्युनिकेशन्स,टेलिस्याट र ग्लोबलस्टार लगायतका स्याटेलाइट कम्पनीहरूले मिलेर नयाँ उद्योग संघ गठन गरेका छन्।

“स्पेसकनेक्ट एसोसिएसन” नाम दिइएको यो समूहले विशेष रूपमा गैर–भूस्थिर कक्षा (एनजीएसओ) का स्याटेलाइट अपरेटरहरूको प्रतिनिधित्व गर्नेछ। एनजीएसओ अन्तर्गत पर्ने निम्न पृथ्वी कक्षा (एलईओ) स्याटेलाइटहरू हाल सबैभन्दा चर्चित श्रेणी मानिन्छन्।

समूहको नेतृत्व पूर्व नेशनल टेलिकम्युनिकेशन्स एण्ड इन्फर्मेशन एडमिनिस्ट्रेशन प्रमुख डेभिड रेडले कार्यकारी निर्देशकका रूपमा गर्नेछन्। त्यस्तै फेडरल कम्युनिकेशन्स कमिसनको स्पेस ब्युरोकी पहिलो प्रमुख रहिसकेकी जुली कियरनीले कानुनी सल्लाहकारको जिम्मेवारी सम्हाल्नेछिन्।

स्पेसकनेक्टका अनुसार यसको उद्देश्य एनजीएसओ स्याटेलाइट प्रणालीको विस्तार, नवप्रवर्तन र प्रयोगलाई प्रोत्साहन गर्ने नीतिका पक्षमा विश्वव्यापी रूपमा पैरवी गर्नु हो।

रेडलले एनजीएसओ स्याटेलाइट प्रणालीहरूले विश्वभरको कनेक्टिभिटीको स्वरूप परिवर्तन गरिरहेको र आर्थिक वृद्धि, राष्ट्रिय सुरक्षा तथा विश्वव्यापी नवप्रवर्तनका नयाँ अवसर सिर्जना गरिरहेको बताए। उनले स्पेसकनेक्टले स्पेक्ट्रम, बजार पहुँच र अन्तरिक्ष व्यवस्थापनसम्बन्धी निर्णयका क्रममा सरकार र सरोकारवालासँग सहकार्य गर्दै प्रतिस्पर्धी, सुरक्षित र दिगो कनेक्टिभिटी वातावरण निर्माणका लागि काम गर्ने बताए।

समूहको गठन अमेरिकी कम्पनीहरूमा मात्र सीमित हुनु र यसको घोषणा भएको समयलाई विशेष अर्थपूर्ण रूपमा हेरिएको छ। हाल अमेरिका र युरोपेली संघबीच २ गिगाहर्ज मोबाइल स्याटेलाइट सेवा (एमएसएस) ब्यान्डको प्रयोगलाई लिएर मतभेद बढिरहेको छ।

युरोपेली संघले आफ्नो सार्वभौमिकता र स्थानीय स्याटेलाइट उद्योगको विकासलाई प्रोत्साहन गर्न उक्त स्पेक्ट्रमको अधिकांश भाग युरोपेली कम्पनीहरूका लागि सुरक्षित राख्ने प्रस्ताव गरेको छ। यता बेलायत भने युरोप र अमेरिकाबीचको अवस्थालाई नियाल्दै अन्तिम निर्णय गर्न चाहिरहेको बताइएको छ।

युरोपेली संघको प्रस्तावको आलोचना गर्दै स्पेसएक्सले यसले मूल्यवान स्पेक्ट्रमलाई “प्रायः प्रयोग गर्न नसकिने गरी साना–साना भागमा विभाजन” गर्न सक्ने चेतावनी दिएको थियो। कम्पनीले यसले स्टारलिङ्क सेवामा, विशेषगरी युक्रेनमा, हस्तक्षेप निम्त्याउन सक्ने र युरोपेली संघको दृष्टिकोण अन्तर्राष्ट्रिय नियम तथा आर्थिक वास्तविकतासँग मेल नखाने दाबी गरेको थियो।

एलईओ स्याटेलाइट क्षेत्रको सबैभन्दा ठूलो कम्पनी स्पेसएक्स भने स्पेसकनेक्टमा समावेश छैन। इलन मस्कको नेतृत्वमा रहेको स्पेसएक्सको प्रभाव र पहुँच पर्याप्त भएकाले कानून निर्माता तथा नियामकहरूसमक्ष आफ्नो आवाज पुर्‍याउन अलग लबी समूहको आवश्यकता कम भएको हुन सक्ने विश्लेषण गरिएको छ।

स्पेसकनेक्टले यूरोपेली संघको स्पेक्ट्रम प्रस्तावबारे आधिकारिक धारणा सार्वजनिक गर्छ कि गर्दैन, र गरेमा स्पेसएक्सकै जस्तै तर्कहरू प्रयोग गर्छ कि गर्दैन भन्ने विषय चासोका साथ हेरिएको छ।

केर्नीले अन्तरिक्ष सञ्चारसम्बन्धी नीति तथा नियामक संरचनाले प्रविधिगत नवप्रवर्तनको गतिसँग मेल खानुपर्ने बताइन्। उनले लाइसेन्स प्रक्रियालाई अद्यावधिक गर्ने, स्पेक्ट्रममा प्रभावकारी पहुँच सुनिश्चित गर्ने र उद्योग–नेतृत्वका उत्कृष्ट अभ्यासहरूलाई प्रवर्द्धन गरेर एनजीएसओ प्रणालीको पूर्ण क्षमता उपयोग गर्न सहयोग पुर्‍याउने लक्ष्य रहेको बताइन्।

समूहको घोषणाबाट हेर्दा यूरोपेली संघको स्याटेलाइट स्पेक्ट्रम योजनाबारे स्पेसकनेक्टले पनि आफ्नो धारणा सार्वजनिक गर्ने सम्भावना बलियो देखिएको छ।

 

प्रकाशित: १४ असार २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...