एआईमा सामसङको विशाल लगानीको तयारी

  • Technology Khabar | १२ असार २०८३, शुक्रबार
एआईमा सामसङको विशाल लगानीको तयारी

काठमाडौं ।

कृत्रिम बौद्धिकता (एआई) प्रविधिको तीव्र विस्तारसँगै दक्षिण कोरियाको सामसङ इलेक्ट्रोनिक्सले देशकै इतिहासमा सबैभन्दा ठूलो लगानी योजना सार्वजनिक गर्ने तयारी गरेको छ। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार सामसुङले आगामी हप्ता करिब १० हजार खर्ब वन (करिब छ खर्ब ५० अर्ब अमेरिकी डलर) बराबरको दीर्घकालीन लगानी योजना घोषणा गर्ने तयारी गरेको छ।

यो लगानी योजना राष्ट्रपति ली जे म्युङको राजधानी सियोल बाहिरका क्षेत्रहरूमा औद्योगिक विकास विस्तार गर्ने नीतिसँग पनि जोडिएको छ । राष्ट्रपति लीले सोमबार आयोजना गर्ने ‘नेसनल मेगा प्रोजेक्ट’ कार्यक्रममा सामसङले आफ्नो नयाँ लगानी रणनीति सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

प्रतिस्पर्धी चिप निर्माता एसके हाइनिक्सले पनि सोही कार्यक्रममा आफ्नो लगानी योजना घोषणा गर्ने सम्भावना रहेको छ । दुवै कम्पनी कृत्रिम बौद्धिकतामा प्रयोग हुने उन्नत मेमोरी चिप उत्पादनमा विश्वका अग्रणी कम्पनी मानिन्छन् ।

डाटा सेन्टर, च्याटबोट, इमेज जेनेरेटर तथा अन्य एआई प्रविधिको माग तीव्र रूपमा बढ्दै गएपछि सेमिकन्डक्टर उद्योगमा ठूलो लगानी आकर्षित भएको छ। एआईको विस्तारले सामसङ र एसके हाइनिक्स दुवै कम्पनीको नाफा र सेयर मूल्यमा उल्लेखनीय वृद्धि गराएको छ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार सामसङको प्रस्तावित प्याकेजअन्तर्गत दक्षिणपश्चिमी दक्षिण कोरियामा नयाँ सेमिकन्डक्टर कम्प्लेक्स निर्माणका लागि करिब तीन लाख अर्ब वन लगानी गरिनेछ । प्रविधि क्षेत्रमा तुलनात्मक रूपमा पछाडि परेका क्षेत्रहरूमा औद्योगिक विकास विस्तार गर्ने लक्ष्य राखिएको छ।

माइल बिजनेस न्युजपेपरका अनुसार योङ्गिनमा छवटा चिप उत्पादन केन्द्र निर्माणका लागि करिब ६ सय खर्ब वन विनियोजन गरिनेछ भने डाटा सेन्टर र एआई पूर्वाधार विकासका लागि करिब तीन हजार ५०० खर्ब वन लगानी गर्ने योजना रहेको छ । प्रस्तावित १० वर्षे खर्च योजना दक्षिण कोरियाको कुनै पनि निजी कम्पनीले सार्वजनिक गरेको सबैभन्दा ठूलो लगानी प्रतिबद्धता बन्नेछ।

समाचारअनुसार राष्ट्रपति लीले यसै साता सामसुङका अध्यक्ष ली जे–योङसँग भेट गरी सेमिकन्डक्टर उद्योगमा लगानी विस्तारबारे छलफल गरेका थिए। उनले गत साता एसके समूहका अध्यक्ष चे ताए–विनसँग पनि भेटवार्ता गरेका थिए।

सामसुङ इलेक्ट्रोनिक्सले गत वर्ष ४३६ खर्ब वन सञ्चालन नाफा कमाएको थियो । यो अघिल्लो वर्षको तुलनामा ३३ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको नाफा आगामी वर्षहरूमा अझ तीव्र रूपमा बढ्ने अनुमान गरिएको छ ।

विश्लेषकहरूका अनुसार यस वर्ष कम्पनीको सञ्चालन नाफा तीन हजार खर्ब वन नाघ्न सक्ने अनुमान गरिएको छ भने आगामी वर्ष यो बढेर पाँच हजार ५०० खर्ब वनसम्म पुग्न सक्छ ।

राष्ट्रपतिका नीतिसम्बन्धी प्रमुख सचिव किम योङ–बीमले योङ्गिनस्थित सेमिकन्डक्टर परियोजनासम्बन्धी छलफल अन्तिम चरणमा पुगेको बताए। उनका अनुसार योजना अन्तिम भएपछि सम्बन्धित कम्पनी र सरकारी मन्त्रालयहरूले संयुक्त रूपमा जनतालाई विस्तृत जानकारी दिनेछन् ।

एआई प्रविधिको विश्वव्यापी प्रतिस्पर्धा तीव्र बन्दै गइरहेका बेला दक्षिण कोरियाले सेमिकन्डक्टर र कृत्रिम बौद्धिकता क्षेत्रमा आफ्नो नेतृत्व कायम राख्न अभूतपूर्व लगानीको बाटो रोजेको छ । रासस/एएफपी

प्रकाशित: १२ असार २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...