काठमाडौं ।
लमजुङको बेँसीसहर नगरपालिका–२ भकुण्डेस्थित बालकल्याण माध्यमिक विद्यालयमा आधुनिक प्रविधिसहितको स्मार्ट कक्षा सञ्चालनमा ल्याइएको छ। विद्यालयमा बिहीबार आयोजित कार्यक्रममा ह्वावे स्मार्ट कक्षा औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।
ह्वावे नेपाल, नेपालस्थित चिनियाँ दूतावास, सूचना तथा सञ्चार मन्त्रालय तथा नेपाल टेलिकमको सहकार्यमा कक्षा कोठामा डिजिटल बोर्ड र कम्प्युटर जडान गरी स्मार्ट कक्षा निर्माण गरेको हो।
स्मार्ट कक्षा पहिल्यै सञ्चालनमा आए पनि बिहीबार औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। कार्यक्रममा बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं २ का वडाध्यक्ष मदनबहादुर रानालाई ‘स्मार्ट पेन’ प्रदान गरी स्मार्ट कक्षा हस्तान्तरण गरे।
विद्यालयमा आयोजित कार्यक्रममा काठमाडौँस्थित ह्वावे टावरबाट समेत भर्चुअल माध्यममार्फत सहभागिता जनाइएको थियो। सो अवसरमा ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत चेस्टर चेन, आर्थिक परामर्शदाता झु फेङ, एडभीका वरिष्ठ शिक्षा विशेषज्ञ जेफ्री तथा आरम्भ विद्यालयका अध्यक्ष नरेशप्रसाद श्रेष्ठलगायतले स्मार्ट कक्षाले शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने धारणा व्यक्त गरे।
विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद बरालका अनुसार स्मार्ट कक्षा सञ्चालनका लागि हुवावे नेपालले विद्यालयलाई १० थान कम्प्युटर, एक–एक थान ल्यापटप, प्रिन्टर र स्मार्ट बोर्ड तथा १५ ओटा टेबुल उपलब्ध गराएको छ। साथै कक्षाकोठामा रङरोगन तथा कार्पेट व्यवस्थापनमा समेत सहयोग गरेको उनले जानकारी दिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष रानाले विद्यालयमा डिजिटल शिक्षा प्रणालीको आधुनिकीकरणका लागि सहयोग गरेकामा ह्वावे नेपाल र सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे।
प्रकाशित: १२ असार २०८३, शुक्रबार