काठमाडौं ।
फिनल्यान्डको दूरसञ्चार उपकरण निर्माता नोकियाले स्वचालित नेटवर्क प्रविधिलाई थप सशक्त बनाउन कृत्रिम बुद्धिमत्ता (एआई) आधारित नयाँ सुविधाहरू सार्वजनिक गरेको छ।
कम्पनीले टीएम फोरमको डिजिटल ट्रान्सफर्मेशन वर्ल्ड (डीटीडब्लू) कार्यक्रममा आफ्नो स्वचालित नेटवर्किङ पोर्टफोलियोअन्तर्गत ‘एजेन्ट लाइब्रेरी’ सार्वजनिक गरेको हो।
नोकियाका अनुसार उक्त लाइब्रेरीमा पूर्वनिर्मित एआई एजेन्टहरू समावेश छन्, जसले नेटवर्क सुरक्षा, सेवा सञ्चालन र नेटवर्क आश्वासनसम्बन्धी विभिन्न कार्यहरू स्वचालित रूपमा सञ्चालन गर्न सक्छन्।
कम्पनीले यी एआई एजेन्टहरूले ‘जिरो-डे’ साइबर आक्रमण पहिचान गर्ने, जटिल नेटवर्क समस्याको विश्लेषण गर्ने, मूल कारण पत्ता लगाउने, सेवा अर्डर असफलताको समाधान खोज्ने तथा विभिन्न एआई एजेन्टहरूबीच समन्वय गर्ने क्षमता राख्ने जनाएको छ।
टेलिकम्स डटकमका अनुसार नोकियाकी प्रमुख प्रविधि तथा एआई अधिकृत पल्लवी महाजनले एआई-आधारित कार्यभारका कारण नेटवर्क ट्राफिक व्यवस्थापन झन् जटिल बन्दै गएको उल्लेख गर्दै नयाँ प्रविधिले दूरसञ्चार सेवा प्रदायकहरूलाई उच्च स्तरको नेटवर्क स्वायत्ततामा पुग्न सहयोग गर्ने बताइन्।
उनका अनुसार यसले निर्णय प्रक्रियालाई तीव्र बनाउने, सञ्चालनलाई स्वचालित गर्ने तथा नेटवर्क स्रोतहरूको प्रभावकारी उपयोग सुनिश्चित गर्नेछ।
कम्पनीले परम्परागत नेटवर्क सञ्चालनको तुलनामा आफ्नो एआई प्रविधिबाट ६० देखि ८० प्रतिशतसम्म उत्पादकत्व वृद्धि हुन सक्ने दाबी गरेको छ। यद्यपि एआईको वास्तविक प्रभावबारे विश्वव्यापी रूपमा विभिन्न बहस भइरहेका बेला नोकियाले यस्तो दावी गरेको हो।
नोकियाले गुगलको जेमिनी मोडलमा आधारित छ वटा विशेष एआई एजेन्ट पनि विकास गरेको जनाएको छ। तीमध्ये ‘राउटर एजेन्ट’ले विभिन्न एजेन्टहरूबीच समन्वय गरी सञ्चालन व्यवस्थापन गर्छ भने ‘इभेन्ट ट्रायाज एजेन्ट’ले नेटवर्कमा देखिएका अलार्म तथा घटनाहरूको विश्लेषण गरी समस्याको मूल कारण पहिचान गर्छ।
त्यस्तै ‘केपीआई सेलेक्टर एजेन्ट’ले नेटवर्क प्रदर्शनसम्बन्धी जटिल सूचकहरूको व्याख्या गर्छ, ‘एनोमाली रिजनर एजेन्ट’ले असामान्य नेटवर्क व्यवहारको अध्ययन गरी वास्तविक समस्या वा झुटा चेतावनी छुट्याउँछ।
‘एक्सन रिजनर एजेन्ट’ले समाधानका लागि आवश्यक कदमहरू सिफारिस गर्छ भने ‘ड्यासबोर्ड एजेन्ट’ले सामान्य भाषामा दिइएको निर्देशनका आधारमा विश्लेषणात्मक ड्यासबोर्ड तथा ट्र्याकिङ स्क्रिन तयार गर्न सक्षम रहेको कम्पनीले जनाएको छ।
नोकियाले एआईलाई नेटवर्क सञ्चालनको केन्द्रमा राख्दै भविष्यका दूरसञ्चार सञ्जालहरूलाई अझ स्वचालित, बुद्धिमान् र प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।
प्रकाशित: ११ असार २०८३, बिहीबार