
काठमाडौं ।
ब्राजिल सरकारले शनिबार बिहान देशका विभिन्न भागका मोबाइल फोनमा पठाइएको अनधिकृत सूचनाका पछाडि ह्याकर आक्रमण भएको आशंका गरेको छ।
रोयटर्सका अनुसार एक विज्ञप्तिमा राष्ट्रिय संरक्षण तथा नागरिक प्रतिरक्षा सचिवालयले देशको नागरिक सूचना प्रणालीलाई स्थानीय समयअनुसार बिहान करिब साढे १ बजे (साढे ४ जीएमटी) अस्थायी रूपमा बन्द गरिएको जनाएको छ।
“मिसान्थ्रोपी” भन्ने शब्द समावेश भएको सन्देश विभिन्न राज्यका प्रयोगकर्तालाई पठाइएपछि प्रणाली बन्द गरिएको हो। “मिसान्थ्रोपी” को अर्थ मानवताप्रतिको घृणा हो।
विज्ञप्तिअनुसार उक्त अनधिकृत सूचना टाढाबाट आदेश दिएर पठाइएको थियो। घटनाको अनुसन्धानका लागि यो विषय संघीय प्रहरीलाई जिम्मा लगाइनेछ र सूचना प्रणालीलाई सकेसम्म चाँडो पुनः सञ्चालनमा ल्याइनेछ।
प्रकाशित: ८ असार २०८३, सोमबार