क्यूआर कोडसहितको पासवर्डयुक्त अस्थायी राष्ट्रिय परिचयपत्र अनलाइनबाटै डाउनलोड गर्न सकिने

  • Technology Khabar | ५ असार २०८३, शुक्रबार
क्यूआर कोडसहितको पासवर्डयुक्त अस्थायी राष्ट्रिय परिचयपत्र अनलाइनबाटै डाउनलोड गर्न सकिने

काठमाडौं ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले अस्थायी राष्ट्रिय परिचयपत्र (eNID) डाउनलोड गर्न सकिने सेवा सुरु गरेको छ।

विभागले हालै एक विज्ञप्ति प्रकाशित गरी नेपाल सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत नागरिक पोर्टलमार्फत फोटो र अनलाइन प्रमाणीकरणयोग्य क्यूआर कोडसहितको पासवर्ड सुरक्षित अस्थायी राष्ट्रिय परिचयपत्र (eNID) डाउनलोड गर्न मिल्ने प्रणाली विकास गरेको जनाएको हो।

विभागका अनुसार २०८३ असार ४ गतेदेखि परीक्षणका रूपमा सेवा सुरु गरिएको हो। राष्ट्रिय परिचय नम्बर प्राप्त गरिसकेका नेपाली नागरिकहरूले नाम (नेपाली वा अंग्रेजी), जन्ममिति र नागरिकता जारी मिति प्रविष्ट गरेर आफ्नो eNID डाउनलोड गर्न सक्नेछन्।

डाउनलोड गरिएको eNID कार्ड सुरक्षित रूपमा राख्न विभागले अनुरोध गरेको छ।

विभागले सार्वजनिक निकाय तथा संस्थाहरूलाई नागरिक पोर्टलबाट प्रिन्ट गरिएको राष्ट्रिय परिचय नम्बरको निस्सा मात्र हेरेर सेवा प्रवाह नगर्न पनि आग्रह गरेको छ। अब eNID कार्डमा रहेको क्यूआर कोड स्क्यान गरी प्राप्त विवरण र नागरिकले प्रस्तुत गरेको विवरण मिलाएर सेवा दिनुपर्ने विभागको भनाइ छ।

यससम्बन्धी प्रयोगकर्ता निर्देशिका विभागको वेबसाइट तथा नागरिक पोर्टलबाट डाउनलोड गर्न सकिने जनाइएको छ।

प्रकाशित: ५ असार २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार