
काठमाडौं ।
चन्द्र अभियानमा सहभागी हुने पहिलो महिला अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई मानवताको प्रगति र अन्तरिक्ष अन्वेषणमा योगदान पुर्याएकोमा स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियास अवार्ड फर कन्कर्ड’ प्रदान गरिने भएको छ।
पुरस्कारको निर्णायक मण्डलले बुधबार कोचको करियर भावी पुस्ता, विशेषगरी महिलाका लागि प्रेरणाको स्रोत बनेको जनाएको छ। निर्णायक मण्डलका अनुसार कोचको उपलब्धिले कडा परिश्रम, सहकार्य र सहानुभूतिमार्फत चुनौती तथा प्रतिकूलतालाई पार गर्ने मानव क्षमतालाई प्रतिबिम्बित गर्छ।
सतचालिस वर्षीया कोच हालै सम्पन्न आर्टेमिस–२ मिसनको चार सदस्यीय टोलीमा सहभागी भएकी थिईन। उक्त अभियान ५० वर्षभन्दा बढी अवधिपछि चन्द्रमाको वरिपरि गरिएको पहिलो मानवयुक्त उडान थियो।
कोचलाई भविष्यमा चन्द्र सतहमा अवतरण गर्ने अभियानका लागि सम्भावित उम्मेदवारका रूपमा पनि हेरिएको छ। आर्टेमिस–२ टोलीले पृथ्वीबाट चार लाख छ हजार ७७१ किलोमिटर दूरीसम्म यात्रा गर्दै मानवअन्तरिक्ष यात्राको नयाँ कीर्तिमानसमेत बनाएको थियो।
यसअघि कोचले महिलाद्वारा गरिएको सबैभन्दा लामो अन्तरिक्ष बसाइको कीर्तिमान कायम गरेकी छन्। उनले अन्तरराष्ट्रिय अन्तरिक्ष केन्द्रमा लगातार ३२८ दिन बिताएका थिइन। साथै, उनले आफ्नो सहकर्मी जेसिका मेयरसँग मिलेर पूर्णरूपमा महिलाले गरेको पहिलो अन्तरिक्षयात्रामा पनि सहभागिता जनाइसकेकी छन्।
पचास हजार युरो राशिको ‘कन्कर्ड’ पुरस्कार स्पेनी सिंहासनकी उत्तराधिकारी राजकुमारी लियोनोरको नाममा स्थापित फाउन्डेसनद्वारा वार्षिक रूपमा प्रदान गरिने आठ प्रतिष्ठित पुरस्कारमध्ये एक हो। यस पुरस्कारले मानव सहअस्तित्व, एकता र अन्तरराष्ट्रिय सहयोगलाई प्रवद्र्धन गर्ने व्यक्ति वा संस्थालाई सम्मान गर्ने गर्दछ।
यसअघि उक्त पुरस्कार मेरीज मील्स, जोस एन्ड्रेस तथा कोभिड–१९ महामारीका बेला सेवा पुर्याएका स्पेनी स्वास्थ्यकर्मीलाई प्रदान गरिएको थियो। रासस\एएफपी
प्रकाशित: ४ असार २०८३, बिहीबार