
काठमाडौं ।
अनलाइन दर्ता प्रक्रियाको प्रभावकारी कार्यान्वयनका लागि अनलाइन सञ्चारमाध्यमको दर्ता/नवीकरण प्रमाणपत्रको हार्डकपी जारी गर्ने व्यवस्था हटाइएको छ।
सूचना तथा प्रसारण विभागले आर्थिक वर्ष २०८३/८४ का लागि अनलाइन सञ्चारमाध्यमको नवीकरण तथा अनलाइन दर्ता/नवीकरण प्रमाणपत्र सम्बन्धी सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो।
विभागले प्रकाशन गरेको सूचनाअनुसार पत्रकारिता ऐन, २०८१ तथा पत्रकारिता नियमावली, २०८४ (तेस्रो संशोधन, २०८२ समेत) का आधारमा अनलाइन सञ्चारमाध्यमको दर्ता/नवीकरण विभागको सूचना प्रणाली https://ims.doib.gov.np मार्फत भइरहेको छ।
विभागका अनुसार नेपाल सरकारबाट स्वीकृत सरकारी सुधारसम्बन्धी एक सय कार्ययोजना अन्तर्गत Business Process Re-engineering (BPR) कार्यक्रमका आधारमा मिति २०८३ असार १ गतेदेखि लागू हुने गरी अनलाइन सञ्चारमाध्यमको दर्ता/नवीकरणसँग सम्बन्धित सेवा तथा सूचना, सञ्चार, समन्वय र निर्णय प्रक्रियालाई प्रविधिमैत्री बनाउन प्रणालीमा सुधार गरिएको हो।
अब दर्ता/नवीकरण/विवरण परिवर्तन प्रमाणपत्रको डिजिटल प्रतिलिपि (डिजिटल कपी) सम्बन्धित सञ्चारमाध्यमले प्रणालीबाट प्राप्त गर्न सक्नेछन् र हार्डकपी उपलब्ध नगराइने विभागले जनाएको छ।
सूचनामा आर्थिक वर्ष २०८३/८४ का लागि नवीकरण कार्य प्रारम्भ भइसकेको उल्लेख गर्दै आर्थिक वर्ष २०८२/८३ सम्म नवीकरण भएका अनलाइन सञ्चारमाध्यमले आवश्यक कागजातसहित https://ims.doib.gov.np मार्फत निवेदन दिन सक्ने जनाइएको छ।
विभागले आर्थिक वर्ष २०८३/८४ का लागि दर्ता/नवीकरणका निवेदन तथा नवीकरण शुल्क बुझाउन सम्बन्धित सञ्चारमाध्यमलाई आग्रह गरेको छ। साथै समयमै शुल्क नबुझाए प्रमाणपत्र स्वतः रद्द हुने जानकारी पनि दिएको छ।
प्रकाशित: ३ असार २०८३, बुधबार