अब स्थानीय तहमा खटाइएका कर्मचारीहरुले सामाजिक सञ्जाल प्रयोग गर्दा सचेत हुनुपर्ने

  • Technology Khabar | २ असार २०८३, मंगलवार
अब स्थानीय तहमा खटाइएका कर्मचारीहरुले सामाजिक सञ्जाल प्रयोग गर्दा सचेत हुनुपर्ने
सांकेतिक तस्बिर। फ्रिपिक डटकमको सहयोगमा।

काठमाडौं ।

अबदेखि स्थानीय तहमा खटाइएका कर्मचारीहरुले सामाजिक सञ्जाल प्रयोग गर्दा सचेत हुनुपर्ने भएको छ।

नेपाल सरकारबाट स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृत वा प्रमुख प्रशासकीय अधिकृतको कार्य गर्न तोकिएका कर्मचारीको व्यवहारलाई निष्पक्ष, अनुशासित, मर्यादित र सदाचारयुक्त बनाइ सुशासन प्रबर्द्धन गर्न निजामती सेवाका कर्मचारीको आचरण सम्बन्धी नियमावली, २०६५ को नियम २७ ले दिएको अधिकार प्रयोग गरी मन्त्रालयले यो आचारसंहिता तयार पारेको हो।

आचारसंहिता अनुसार कर्मचारीले के गर्नु पर्छ र के गर्नु हुँदैन? 

  • नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहबाट भएका निर्णयको गलत अर्थ लाग्ने गरी भ्रामक सूचना प्रचारप्रसार गर्नु हुँदैन।
  • आफूलाई परेको पीरमर्का वा गुनासो आम सञ्चार माध्यम वा सामाजिक सञ्जालमा नराखी गाउँपालिका तथा नगरपालिकाको अध्यक्ष वा प्रमुख र मन्त्रालयको सुपरीवेक्षक तथा सचिव समक्ष प्रस्तुत गर्नु पर्दछ।
  • सामाजिक सञ्जाल तथा अनलाइनमा प्रकाशन भएका समाचारमा प्रतिकृया लेखी कुनै पनि निकायका पदाधिकारीबाट सम्पादन गरिएका काम कारवाहीका सम्बन्धमा व्यक्तिगत मान, सम्मान र मर्यादामा आँच पुग्ने गरी व्यङ्ग्य वा टिका टिप्पणी गर्नु हुँदैन।
  • पदीय हैसियतबाट गाउँपालिका तथा नगरपालिकाको नामबाट सामाजिक सञ्जालको प्रयोग गर्दा व्यक्तिगत पहिचान खोल्नु हुँदैन।
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय, विभिन्न समुदाय, व्यक्ति, संस्थाहरुको आपसी सम्बन्धमा प्रतिकुल असर पार्ने प्रकृतिका धारणा एवम् राजनैतिक पुर्वाग्रहयुक्त टिका टिप्पणी सामाजिक सञ्जालमा गर्नु हुँदैन।
  • कार्यालय समय अवधिमा मोबाइल वा कम्प्युटर मार्फत व्यक्तिगत प्रयोजनका लागि सामाजिक सञ्जालको प्रयोग गर्नु हुँदैन।
  • कार्यालय समय बाहेक सूचना प्रविधिमा आधारित फेसबुक, ट्वीटर, ह्वाट्स एप, लिंकड इन, टिकटक जस्ता सामाजिक सञ्जालहरु प्रयोग गर्दा सेवाको मर्यादा र आस्थामा आँच नआउने गरी व्यवसायिक आचारसंहिताको अधिनमा रही उच्चतम सतर्कता अपनाउनु पर्दछ।
  • सामाजिक सञ्जालको प्रयोग गर्दा सरकारी सेवाको गरिमामा आँच आउने, कर्मचारीको मानमर्दन हुने तथा जनमानसमा भ्रम एवम् अविश्वास पैदा हुने, प्रचलित कानून र मर्यादाले अस्वीकार गर्ने किसिमका श्रव्य दृष्य सामग्रीहरु राख्न एवम् शेयर गर्नु हुदैन।
  • स्थानीय तहको सरकारी कामका लागि स्थानीय तहको ईमेल ठेगाना प्रयोग गर्नुपर्नेछ।

प्रकाशित: २ असार २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार