
काठमाडौं ।
मुलुकको उड्डयन क्षेत्रलाई सुरक्षित, दिगो तथा चुनौती सामना गर्न सक्षम बनाउने उद्देश्यले वायुसेवा सञ्चालक सङ्घ, नेपाल र एरोनटिकल सोसाइटी अफ नेपालबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ।
दुवै संस्थाले नेपालको उड्डयन क्षेत्रको समग्र विकास, क्षमता अभिवृद्धि, अनुसन्धान, नवप्रवर्तन तथा ज्ञान आदानप्रदानमा सहकार्य गर्ने सहमति जनाएका छन्।
वायुसेवा सञ्चालक सङ्घ उड्डयन उद्योगको प्रमुख प्रतिनिधिमूलक संस्था हो । यस्तै, एरोनटिकल सोसाइटी अफ नेपाल प्राविधिक ज्ञान, अनुसन्धान र व्यावसायिक विकासका क्षेत्रमा काम गर्दै आएको छ।
सहमतिअनुसार उड्डयन क्षेत्रको मानव स्रोत विकास, नेतृत्व प्रवर्द्धन, सञ्चालन, इन्जिनियरिङ, मर्मतसम्भार, सुरक्षा व्यवस्थापन तथा नवीन प्रविधिसम्बन्धी तालिम सञ्चालन गरिनेछ। सथै अन्तरराष्ट्रिय मापदण्डअनुसार दक्ष जनशक्ति उत्पादन, विद्यार्थी तथा युवा पेसाकर्मीको क्षमता विकास, अनुसन्धान तथा नवप्रवर्तन प्रवर्द्धनमा सहकार्य हुने समझदारीपत्रसम्बन्धी जारी विज्ञप्तिमा उल्लेख छ।
उड्डयन क्षेत्रमा ‘सेफ्टी कल्चर’ को विकास, डिजिटलाइजेसन, डाटा एनालिटिक्स, कृत्रिम बुद्धिमत्तालगायत उदियमान प्रविधिको प्रयोग विस्तार, राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा ज्ञान र अनुभव साझेदारी गर्ने समझदारीपत्रमा उल्लेख छ।
प्रकाशित: १ असार २०८३, सोमबार