
काठमाडौं ।
अमेरिकी चिप निर्माता एडभान्स्ड माइक्रो डिभाइसेजले बेलायतमा कृत्रिम बुद्धिमत्ता (एआई), क्वान्टम कम्प्युटिङ तथा नयाँ पुस्ताका कम्प्युटिङ प्रविधिसम्बन्धी अनुसन्धान तथा विकास (आरएण्डडी) परियोजनामा आगामी पाँच वर्षभित्र २ अर्ब पाउन्ड लगानी गर्ने घोषणा गरेको छ।
कम्पनीले यी क्षेत्रमा विकासलाई तीव्र बनाउन विभिन्न साझेदारीहरू पनि घोषणा गरेको छ।
एएमडीकी अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत लिसा सुले बेलायतसँग एआईको अर्को युगको नेतृत्व गर्ने प्रतिभा, अनुसन्धान क्षमता र महत्वाकांक्षा रहेको बताइन्।
उनले सार्वभौम एआईको विकास, वैज्ञानिक अनुसन्धानलाई गति दिन र दीर्घकालीन आर्थिक वृद्धिलाई समर्थन गर्न आवश्यक कम्प्युटिङ पूर्वाधार विस्तारका लागि सरकार, शैक्षिक संस्था र उद्योग क्षेत्रसँग सहकार्यलाई अझ बलियो बनाउने बताइन्।
एएमडीका नयाँ साझेदारमध्ये इम्पेरियल कलेज लण्डन पनि रहेको छ। दुवैले एआई आधारित वैज्ञानिक अनुसन्धान, सार्वभौम एआई पूर्वाधार तथा उच्च कार्यसम्पादन क्षमतायुक्त कम्प्युटिङ (एचपीसी) प्रणाली विकासमा सहकार्य गर्नेछन्।
टेलिकम्स डटकमका अनुसार यसबाट इन्जिनियरिङ डिजाइन, बहु-भौतिक सिमुलेसन, नयाँ सामग्री विकास, जलवायु तथा पृथ्वी प्रणाली मोडलिङ, न्यूरोसाइन्स, मस्तिष्क इमेजिङ, महामारी विज्ञान, जैव सुरक्षा, जीनोमिक्स तथा कम्प्युटेसनल बायोलोजी लगायतका क्षेत्रमा अनुसन्धानलाई गति मिल्ने अपेक्षा गरिएको छ।
एएमडी र इम्पेरियल कलेजबीचको सहकार्यले एआई, एचपीसी, एक्सेलेरेटेड कम्प्युटिङ, सेमिकन्डक्टर प्रविधि तथा इन्जिनियरिङसँग सम्बन्धित शिक्षा, जनशक्ति विकास र विज्ञानमा आधारित नवप्रवर्तन कार्यक्रमहरूलाई पनि समेट्नेछ।
एएमडीका अनुसार विद्यार्थी, अनुसन्धानकर्ता, स्टार्टअप तथा नवप्रवर्तकहरूले कार्यशाला, सेमिनार, इन्टर्नसिप, पाइलट कार्यक्रम तथा उद्योगसँगको सहकार्यमार्फत कम्प्युटिङ स्रोत, सफ्टवेयर वातावरण र प्राविधिक विशेषज्ञतामा पहुँच पाउनेछन्।
एएमडीले फोटोनिक नेटवर्किङ कम्पनी ओरिओल नेटवर्क्ससँग पनि साझेदारी गरेको छ। दुवैले कार्यसम्पादन सुधार, ऊर्जा दक्षता वृद्धि तथा विलम्बता घटाउने उद्देश्यसहित एआई इन्फरेन्स कार्यभार विस्तारका नयाँ उपायहरूमा अनुसन्धान गर्नेछन्।
यसका साथै एएमडी र डेल टेक्नोलोजिजले युनिभर्सिटी अफ क्याम्ब्रिजका जेनिथ र सनराइज एआई सुपरकम्प्युटर परियोजनामा पनि योगदान दिइरहेका छन्।
यस महिनाको सुरुआतमा एएमडी क्वान्टम कम्प्युटिङ कम्पनी अक्सफोर्ड क्वान्ट सर्किट्स र जेपीमोर्गनचेज बीच वित्तीय सेवासम्बन्धी जटिल समस्या समाधानका लागि क्वान्टम तथा हाइब्रिड क्वान्टम–क्लासिकल कम्प्युटिङ अनुप्रयोगहरूको अनुसन्धान र परीक्षण गर्ने सम्झौता भएको थियो। उक्त कार्य लन्डनस्थित ओक्यूसीको क्वान्टम-एआई डाटा सेन्टरमा गरिनेछ।
बेलायतकी अर्थमन्त्री राचेल रीभ्सले यो लगानीलाई बेलायतको एआई क्षमताप्रतिको ठूलो विश्वासको मतका रूपमा वर्णन गर्दै यसले अत्याधुनिक अनुसन्धानलाई प्रोत्साहन गर्ने, भविष्यका रोजगारीका लागि आवश्यक सीप विकासका अवसर सिर्जना गर्ने तथा नयाँ आविष्कारलाई तीव्र बनाउने बताइन्।
बेलायतकी प्रविधिमन्त्री लिज केन्डलले पनि यो लगानीले एआई क्षेत्रमा बेलायतको प्रतिभा, अनुसन्धान क्षमता र महत्वाकांक्षाको पुष्टि गरेको बताइन्। उनले उन्नत एआई प्रविधिको विकास, आर्थिक वृद्धि र रोजगारी सिर्जनाका लागि आवश्यक कम्प्युटिङ क्षमता निर्माण भइरहेको उल्लेख गरिन्।
लन्डन टेक विकको अवसरमा घोषणा गरिएको एएमडीको यो लगानी बेलायतको एआई तथा क्वान्टम कम्प्युटिङ क्षेत्रमा हालै भएका सकारात्मक विकासहरूको पछिल्लो उदाहरण हो।
गत अप्रिलमा बेलायतले विश्व प्रतिस्पर्धीहरूसँग बराबरी गर्न ५० करोड पाउन्डको सार्वभौम एआई पहल सुरु गरेको थियो। त्यसअघि सरकारले राष्ट्रिय एआई अनुसन्धान स्रोत (एआईआरआर) को कम्प्युटिङ क्षमता स्टार्टअपहरूका लागि पनि उपलब्ध गराएको थियो।
मार्चमा बेलायत सरकारले क्वान्टम कम्प्युटर खरिदका लागि २ अर्ब पाउन्ड छुट्याएको थियो। गत सेप्टेम्बरमा गुगल, माइक्रोसफ्ट, एनभिडिया र ओपनएआई लगायत अमेरिकी प्रविधि कम्पनीहरूले पनि बेलायतमा अर्बौं डलर लगानी गर्ने प्रतिबद्धता जनाएका थिए।
अमेरिका, चीन, ताइवान, दक्षिण कोरिया वा जापानजस्ता देशहरूमा रहेका विशाल प्रविधि तथा सेमिकन्डक्टर कम्पनीहरूको स्तरमा बेलायतका आफ्नै कम्पनीहरू नभए पनि विदेशी लगानी र सरकारी अनुसन्धान कार्यक्रमहरूको निरन्तरताले देशलाई यी अत्याधुनिक प्रविधिको अग्रपंक्तिमा राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रकाशित: २७ जेष्ठ २०८३, बुधबार