
काठमाडौं ।
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा डिजिटल ट्रान्सफरमेसन आयोजना सञ्चालन गर्ने भएको छ। सरकारले यसलाई प्रमुख प्राथमिकता प्राप्त आयोजनाको रुपमा संचालन गर्ने भएको छ भने यसलाई सिधै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र सूचना तथा सञ्चार मन्त्रालयको मातहतमा राखिएको देखिन्छ।
सरकारले यसका लागि कुल १ अर्ब ७७ करोड ९७ लाख रुपैयाँ विनियोजन गरेको छ।
डिजिटल ट्रान्सफरमेसन आयोजनाका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमार्फत आगामी आर्थिक वर्षमा कुल १ अर्ब ३३ करोड ८३ लाख रुपैयाँ छुट्याएको छ भने सञ्चार मन्त्रालय मातहतमा आयोजनाका लागि छुट्टै ४४ करोड १४ लाख रुपैयाँ विनियोजन गरेको छ।
प्रधानमन्त्री कार्यालय अन्तरगत सरकारले चालु खर्चमा १० करोड ३८ लाख रुपैयाँ तथा बाँकी १ अर्ब २३ करोड ४५ लाख रुपैयाँ छुट्याएको छ।
यस्तै सञ्चार मन्त्रालय मातहत चालु खर्चतर्फ ५ करोड ४३ लाख रुपैयाँ विनियोजन गरेको छ भने पूँजीगत खर्चतर्फ बाँकी ३८ करोड ७१ लाख रुपैयाँ छुट्याएको छ।
सरकारले उक्त रकम एशियाली विकास बैंक तथा विश्व बैंक र विश्व बैंक अन्तरगतको इन्टरनेशनल डेभलपमेन्ट एसोशिएसन (आईडिए) मार्फत शोधभर्ना ऋणमार्फत प्राप्त हुने उल्लेख गरेको छ।
आगामी आवमा डिजिटल ट्रान्सफरमेसन आयोजनाको चालु खर्चतर्फ सेवा र परामर्श खर्च, कर्मचारी तालिम खर्च तथा कार्यक्रम खर्च शीर्षकमा बजेट राखेको छ भने पूँजीगत तर्फ मेशिनरी तथा औजार, कम्प्युटर सफ्टवेयर निर्माण तथा खरीद खर्च, पूँजीगत परामर्श, करार लीज तथा लाइसेन्स खरीद प्राप्ति खर्च शीर्षकमा बजेट खर्च गर्ने लक्ष्य लिएको देखिन्छ।
प्रकाशित: २७ जेष्ठ २०८३, बुधबार