
काठमाडौं ।
यातायात व्यवस्था विभागले सवारी साधनमा उत्पादक कम्पनीले तोकेको मापदण्डभन्दा बाहेकका हेडलाइट तथा हर्न जडान गर्ने सवारीधनी र चालकलाई कडा कारबाही गरिने चेतावनी दिएको छ।
विभागले आज सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित निकायको स्वीकृतिबिना सवारी साधनमा कुनै पनि प्रकारको प्राविधिक हेरफेर नगर्न आग्रह गरेको हो।
विभागका अनुसार पछिल्लो समय सवारी साधनमा अत्यधिक चम्किला तथा उच्च क्षमताका लाइटहरू जडान गर्ने प्रवृत्ति बढ्दै गएको पाइएको छ, जसले सडकमा यात्रा गर्ने अन्य चालक तथा पैदलयात्रीको दृष्टिमा असर पुर्याई दुर्घटनाको जोखिम बढाउने गरेको छ।
यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को धारा ३९ अनुसार सम्बन्धित कार्यालयको अनुमति बिना सवारी साधनमा कुनै पनि प्रकारको परिवर्तन गर्न नपाइने स्पष्ट गरेको छ। यसका साथै, ‘सवारी निरीक्षण तथा परीक्षण मापदण्ड, २०७४’ ले हेडलाइट र हर्न सम्बन्धी निश्चित सीमा निर्धारण गरेको जनाएको छ।
सरकारी मापदण्डअनुसार डिप (लो बिम) हेडल्याम्पको प्रकाश तीव्रता १५ हजारदेखि ३० हजार क्यान्डेलासम्म हुनुपर्नेछ। हाई बिम हेडल्याम्पको हकमा प्रत्येक ल्याम्पको तीव्रता एक लाख क्यान्डेला भन्दा कम हुनुपर्ने तथा चारओटै हेडल्याम्पको कुल तीव्रता दुई लाख क्यान्डेला भन्दा कम हुनुपर्ने व्यवस्था छ।
त्यसैगरी, सवारी साधनमा प्रयोग हुने हर्नको ध्वनि न्यूनतम ९० डेसिबल र अधिकतम ११२ डेसिबलसम्म मात्र हुनुपर्नेछ। प्रेसर हर्न तथा अत्यधिक चर्को आवाज निकाल्ने अन्य हर्नहरू जडान गर्न पूर्णरूपमा प्रतिबन्ध लगाइएको विभागले जनाएको छ।
प्रकाशित: २६ जेष्ठ २०८३, मंगलवार