
काठमाडौं ।
राष्ट्रिय आविष्कार केन्द्र मार्फत नवप्रवर्तन, अनुसन्धान तथा विकासको क्षेत्रमा काम गर्दै आएका महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्त भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनियताको शपथ लिएका छन्।
नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष शपथ लिए।
प्रधानमन्त्री वालेन्द्र शाहले आजै मन्त्रिपरिषद् विस्तार गरी गुरुङलाई गृह र पुनलाई नवप्रवर्तन मन्त्री नियुक्त गरेका थिए। गृहमन्त्री गुरुङ गोरखा १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हुन भने नवप्रवर्तन मन्त्री पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुन्।
पुन यसअघि सुशिला कार्कीको नेतृत्वमा भएको अन्तरिम सरकारमा पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त भएका थिए। उनले आफ्नो कार्यकाल सकिनु अगाडिनै मन्त्री पदबाट राजीनामा दिएर स्वतन्त्र रुपमा चुनावमा होमिएका थिए।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री शाह, प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका प्रमुख र प्रतिनिधि, सांसदहरू, संवैधानिक निकायका प्रमुखलगायत उपस्थित थिए।
प्रकाशित: २६ जेष्ठ २०८३, मंगलवार