आईपीओ निस्कासअघि च्याटजीपीटीलाई उल्लेख्य अपग्रेड गर्ने योजनामा ओपनएआई

  • Technology Khabar | २५ जेष्ठ २०८३, सोमबार
आईपीओ निस्कासअघि च्याटजीपीटीलाई उल्लेख्य अपग्रेड गर्ने योजनामा ओपनएआई

काठमाडौं ।

ओपनएआईले सम्भावित शेयर बजार सूचीकरणअघि आम्दानी बढाउने उद्देश्यसहित च्याटजीपीटीमा अहिलेसम्मकै ठूलो परिवर्तन गर्ने योजना बनाएको छ। यसअन्तर्गत च्याटजीपीटीलाई कोडिङ उपकरण र एआई एजेन्टहरू समेटिएको “सुपरएप” मा रूपान्तरण गरिने भएको फाइनान्सयल टाइम्सले आइतबार जनाएको छ।

रिपोर्टअनुसार यी परिवर्तनहरू ओपनएआईको व्यापक पुनर्संरचनाको हिस्सा हुन्। कम्पनीले उच्च आम्दानी दिने उद्यम (इन्टरप्राइज) ग्राहकहरूलाई लक्षित गर्दै स्रोतसाधन पुनःव्यवस्थित गरिरहेको छ र प्रतिस्पर्धी एन्थ्रोपिकसँगको प्रतिस्पर्धा पनि तीव्र बनाइरहेको छ। यो जानकारी एक दर्जनभन्दा बढी वर्तमान तथा पूर्व कर्मचारीलाई उद्धृत गर्दै प्रकाशित गरिएको हो।

रोयटर्सले उक्त रिपोर्ट स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन। ओपनएआईले पनि रोयटर्सको टिप्पणी अनुरोधमा तत्काल प्रतिक्रिया दिएको छैन।

परिवर्तनपछि ओपनएआईको कोडिङ उत्पादन कोडेक्सलाई थप प्राथमिकता र स्रोतसाधन उपलब्ध गराइनेछ। फाइनान्सियल टाइम्सका अनुसार यी अद्यावधिकहरू आगामी केही साताभित्र सुरु हुनेछन् र सुरुआतमा च्याटजीपीटीको वेबसाइट तथा मोबाइल एपमा देखिनेछन्।

प्रयोगकर्ता संख्या बढाउन ओपनएआईले च्याटजीपीटीको इन्टरफेस पुनःडिजाइन गरिरहेको छ। नयाँ संकेत (प्रम्प्ट) र सुविधामार्फत प्रयोगकर्तालाई कोडिङ उपकरण, क्यान्भा र बुकिङ डटकमजस्ता तस्बिर निर्माण तथा साझेदार सेवाहरूतर्फ आकर्षित गरिने रिपोर्टमा उल्लेख छ।

फाइनान्सियल टाइम्सका अनुसार कोडेक्सका अधिकांश प्रयोगकर्ता भुक्तानी गर्ने ग्राहक हुन्। साथै, २० लाख व्यवसायिक ग्राहकहरूले ओपनएआईको कुल आम्दानीको करिब ४० प्रतिशत हिस्सा ओगटेका छन्। कम्पनीले यो हिस्सा वर्षको अन्त्यसम्म ५० प्रतिशत पुग्ने अपेक्षा गरेको छ।

ओपनएआईले यसअघि च्याटजीपीटीका साप्ताहिक सक्रिय प्रयोगकर्ता संख्या ९० करोडभन्दा बढी पुगेको जनाएको थियो। साथै, उपभोक्ता सदस्यता लिने प्रयोगकर्ताको संख्या ५ करोड नाघिसकेको पनि कम्पनीले बताएको रोयटर्सले उल्लेख गरेको छ।

रोयटर्सले मे महिनामा ओपनएआईले आगामी केही साताभित्र अमेरिकामा गोप्य रूपमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सम्बन्धी कागजात दर्ता गर्ने तयारी गरिरहेको रिपोर्ट गरेको थियो। तर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सम अल्टम्यानले कम्पनी सूचीकरणको समय निर्धारणमा केन्द्रित नभएको र उपयुक्त समय आएपछि मात्र सार्वजनिक कम्पनी बन्ने बताएका छन्।

प्रकाशित: २५ जेष्ठ २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...