
काठमाडौं ।
सूचना तथा सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणमा रिक्त रहेको अध्यक्ष तथा सदस्य पदहरुको लागि आवेदन दिनेहरु मध्येबाट योग्य आवेदकहरुको सूची सार्वजनिक गरेको छ।
मन्त्रालयले २०८३ बैशाख २६ गते प्रकाशित गरेको सूचनाअनुसार उक्त पदहरुका लागि तोकिएको न्यूनतम योग्यता, अनुभव तथा पेश गर्नुपर्ने कागजातहरुको आधारमा योग्यता सूची प्रकाशित गरेको हो।
मन्त्रालयका अनुसार अध्यक्षका लागि ३२ जनाले आवेदन दिएकोमा कुल २९ जनामात्र योग्य ठहर भएका छन भने कानून तर्फको सदस्य पदका लागि आवेदन दिनेहरु सबै अयोग्य भएका छन्।
मन्त्रालयकाअनुसार कुल ३२ जनाले अध्यक्ष पदका लागि आवेदन दिएका मध्ये राकेश ताम्राकार, श्रीकृष्ण सुवेदी र दिपेश शिवाकोटीको आवेदन अयोग्य ठहर भएको छ।
कानुन सदस्य पदका लागि विनोद आचार्य, श्रीकृष्ण सुवेदी र असगरुल हकले आवेदन दिएका थिए। तर यी तीनै जना उक्त पदका लागि हाल अयोग्य भएका मन्त्रालयले उल्लेख गरेको छ।
यस्तै लेखा तथा लेखापरीक्षण सदस्य पदका लागि प्रतिक श्रेष्ठ, मनोज अधिकारी र तीर्थ प्रसाद यादवको आवेदन अयोग्य भएको छ।
बजार व्यवस्थापन पद तर्फ ओमलाल श्रेष्ठको मात्र आवेदन अस्विकृत भएको देखिन्छ।
मन्त्रालयकाअनुसार प्रशासन र प्राविधिक पदका लागि आवेदन दिएका १५ जनामध्ये ११ जना मात्र योग्य रहेका छन्।
योग्य आवेदन नभएकाहरुमा धनेश्वर झा, मिनु केसी फुलबाबु झा र विकाश आचार्य रहेका छन्।
मन्त्रालयले योग्य आवेदकहरुको प्रस्तुतीकरण तथा अन्तरवार्ता कहिले गर्छ भन्ने कुनै औपचारिक जानकारी दिएको छैन्।
मन्त्रालयले यसअघि आवेदन दिने समयावधि सकिएपछि नयाँ दिग्दर्शनमार्फत योग्यता र अनुभवको विषय थप गरेको थियो । तर सो बारेमा टेक्नोलोजीखबरले समाचार प्रकाशित गरेसँगै उक्त त्रुटीलाई सच्याएर सूचनामा तोकिए बमोजिमनै हुने बताएको थियो।
हेर्नुस समाचार-
अहिले मन्त्रालयले आवेदन दिँदाको वखतमा तोकेकै न्यूनतम योग्यता र अनुभवको आधारमा योग्य आवेदकहरुको सूची प्रकाशित गरेको देखिन्छ।
हेर्नुस् सूची-
प्रकाशित: २० जेष्ठ २०८३, बुधबार