सामसङ र श्रमिक सङ्घबीच पुनः वार्ता, हड्ताल रोक्न सरकारको अन्तिम प्रयास

  • Technology Khabar | ७ जेष्ठ २०८३, बिहीबार
सामसङ र श्रमिक सङ्घबीच पुनः वार्ता, हड्ताल रोक्न सरकारको अन्तिम प्रयास
फाइल तस्बिर

काठमाडौं ।

दक्षिण कोरियाको प्रमुख प्रविधि कम्पनी सामसङ इलेक्ट्रोनिक्स र त्यहाँको श्रमिक संघबीच बुधबार पुनः वार्ता सुरु भएको छ। सम्भावित ठूलो हड्ताल रोक्न श्रममन्त्री स्वयं मध्यस्थकर्ताको भूमिकामा सहभागी भएका छन्।

विश्वकै अग्रणी स्मृति चिप उत्पादक कम्पनी सामसङमा बोनस वितरणको विषयमा व्यवस्थापन र श्रमिक सङ्घबीच विवाद बढेपछि संघले बिहीबारदेखि हड्ताल सुरु गर्ने चेतावनी दिएको थियो। यसले अर्धचालक उत्पादनमा गम्भीर असर पर्न सक्ने चिन्ता बढाएको छ।

यो हड्ताल सन् २०२४ मा भएको हड्तालभन्दा धेरै ठूलो हुने अनुमान गरिएको छ। त्यतिबेला करिब ६ हजार कामदार आन्दोलनमा सहभागी भएका थिए। यसपटक भने कम्पनीले कृत्रिम बुद्धिमत्ताबाट प्रेरित प्रविधि बजारको तीव्र विस्तारका कारण ठूलो नाफा कमाइरहे पनि त्यसको उचित हिस्सा कामदारलाई नदिएको भन्दै असन्तोष चर्किएको छ।

दक्षिण कोरियाको श्रम मन्त्रालयका अनुसार बुधबार दिउँसो पुनः वार्ता सुरु गरिएको हो। सरकारको प्रयास हड्ताल टार्ने अन्तिम प्रयासका रूपमा हेरिएको छ। सामसङले यस वर्षको पहिलो त्रैमासिक अवधिमा सञ्चालन नाफा अघिल्लो वर्षको तुलनामा करिब ७५० प्रतिशतले बढेको जनाएको थियो। साथै, मे महिनामा कम्पनीको बजार मूल्य पहिलो पटक १ ट्रिलियन अमेरिकी डलरभन्दा माथि पुगेको थियो।

श्रमिक संघले वार्षिक तलबको ५० प्रतिशतमा सीमित गरिएको बोनस सीमा हटाउन र कम्पनीको सञ्चालन नाफाको १५ प्रतिशत बोनसका रूपमा वितरण गर्न माग गरेको छ।

संघले बुधबार जारी गरेको वक्तव्यमा राष्ट्रिय श्रम सम्बन्ध आयोगले अघि सारेको मध्यस्थता प्रस्ताव आफूहरूले स्वीकार गरेको तर कम्पनी व्यवस्थापनले अस्वीकार गरेको जनाएको छ। त्यसपछि संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार बिहीबारदेखि कानुनी रूपमा आम हड्ताल सुरु गर्ने घोषणा गरेको हो।

संघका कानुनी सल्लाहकारका अनुसार करिब ५० हजार ५ सय कामदार १८ दिनसम्म उत्पादन लाइनबाट बाहिरिने तयारीमा छन्। यता कम्पनी व्यवस्थापनले भने श्रमिक संघका माग अत्यधिक भएको र ती माग स्वीकार गर्दा कम्पनी सञ्चालनको आधारभूत सिद्धान्त नै कमजोर हुने प्रतिक्रिया दिएको छ।

यो विवादले दक्षिण कोरियामा व्यापक चिन्ता पैदा गरेको छ, किनभने अर्धचालक उद्योग देशको अर्थतन्त्रको मुख्य आधार मानिन्छ। कुल निर्यातको करिब ३५ प्रतिशत हिस्सा अर्धचालक क्षेत्रबाट आउने गर्छ।

राष्ट्रपतिको कार्यालयले यसअघि वार्ता असफल भएकोप्रति “गहिरो दुःख” व्यक्त गर्दै सम्भावित आर्थिक असरलाई ध्यानमा राखी दुवै पक्षलाई संवाद जारी राख्न आग्रह गरेको थियो। राष्ट्रपति ली जे म्युङले मन्त्रिपरिषद् बैठकमा श्रमिक आन्दोलन “निश्चित सीमाभित्र” रहनुपर्ने बताएका थिए।

विशेषज्ञहरूका अनुसार सामसङको उत्पादन आंशिक रूपमा मात्रै रोकिए पनि त्यसले विश्वव्यापी प्रविधि आपूर्ति शृंखलामा असर पार्न सक्छ। यद्यपि, श्रमिक संघले मर्मत तथा उपकरण परीक्षणका कारण यसअघि पनि उत्पादन अस्थायी रूपमा रोकिएको उदाहरण दिँदै वर्तमान आन्दोलनलाई सामान्य औद्योगिक प्रक्रिया भित्रकै विषय भएको दावी गरेको छ।

यदि हड्तालले राष्ट्रिय अर्थतन्त्रमा गम्भीर खतरा उत्पन्न गर्ने देखिए सरकारसँग आपत्कालीन मध्यस्थता अधिकार प्रयोग गरेर औद्योगिक आन्दोलन रोक्ने कानुनी अधिकार पनि रहेको बताइएको छ।-रासस/एएफपी

प्रकाशित: ७ जेष्ठ २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार