३७ लाख रुपैयाँ बराबरको अवैध विद्युतीय चुरोट (भेप) सहित आठ जना पक्राऊ
Technology Khabar | ७ जेष्ठ २०८३, बिहीबार
Loading...
Shares
तस्बिर: नेपाल प्रहरी
काठमाडौं ।
रसुवामा ठूलो परिमाणमा अवैध विद्युतीय चुरोट (भेप) सहित आठ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रसुवाले विशेष सूचनाको आधारमा गोसाइँकुण्ड गाउँपालिका–१ दालफेमा गरिएको चेकजाँचका क्रममा १ हजार २ सय २८ थान भेप बरामद गरिएको जनाएको छ।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको टोलीले शुक्रबार राति करिब ९ः३० बजे मम्माया तामाङको घरमा जाँच गर्दा कोठाभित्र लुकाइराखिएको अवस्थामा प्लास्टिकको बोराभित्र चार कार्टुनमा राखिएको ‘ELFBAR ICE KING (30K puffs)’ लेखिएको भेप फेला पारेको हो। बरामद गरिएको भेपको अनुमानित मूल्य ३६ लाख ७५ हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।
पक्राऊ पर्नेहरुमा गोसाइँकुण्ड गाउँपालिका–१ का ४४ वर्षीय मम्माया तामाङ, ३५ वर्षीय राजकुमार तामाङ र ४७ वर्षीय छोमाया तामाङ, धादिङको गंगाजमुना गाउँपालिका–३ का ४० वर्षीय केशबहादुर गुरुङ र २५ वर्षीय सविन गुरुङ रहेका छन्।
त्यसैगरी बाजुराको बुढीनन्दा नगरपालिका–१० घर भई हाल काठमाडौंको माछापोखरी बस्ने २५ वर्षीय सागर खत्री, नुवाकोटको तादी गाउँपालिका–४ घर भई हाल काठमाडौंको बालाजु बस्ने २७ वर्षीय सुवास तामाङ तथा ओखलढुंगाको भदौरे गाउँपालिका–६ घर भई हाल काठमाडौंको बालाजु बस्ने २६ वर्षीय नेत्रबहादुर थापा मगरलाई समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धुन्चेका सूचना अधिकारी राजु शाहका अनुसार पक्राऊ परेकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको छ।