
काठमाडौं ।
भक्तपुरको चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेज र भायानेट कम्युनिकेशन लिमिटेडबीच दूरसञ्चार तथा, सूचना प्रविधि विषय लिएर अध्ययन गरिरहेका विद्यार्थीहरुलाई शिक्षा र उद्योगसँग जोड्नेसम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ।
मुनाफारहित सामाजिक संस्थाका रुपमा सञ्चालित कलेजले स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको क्षमता विकास गर्दै उनीहरुलाई उद्योग र व्यवसायसँग नजिक गराउनु उद्देश्यले नेपालको अग्रणी इन्टरनेट प्रदायक संस्था भायानेट कम्युनिकेशनसँग समझदारीमा हस्ताक्षर गरेको हो।
समझदारीपत्रमा कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारी तथा कम्प्युटर इन्जिनियरिङ विभागका सहायक प्राध्यापक कृष्ण विक्रम शाह र भायानेट कम्युनिकेशनकी कर्पोरेट सेल्स मेनेजर रञ्जु लामाले हस्ताक्षर गरेका हुन्।
एमओयूमा नेपाल इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीहरुको सीप, उद्योगको सम्पर्क र रोजगारी बढाउने लक्ष्य लिइएको छ। जस अनुसार विद्यार्थीहरुको सिकाईलाई प्रभावकारी बनाउँदै उनीहरुलाई रोजगार बनाउन विशेष तालिम सञ्चालन गर्ने, दूरसञ्चार र सूचना प्रविधि क्षेत्रमा करियर प्लेसमेन्टहरु गरिने भनिएको छ।
कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारीले भायानेटसँगको साझेदारीले शिक्षा र उद्योग विचको खाडललाई कम गर्ने, विश्वव्यापी शिक्षाको अनुभव गर्ने तथा भविष्यका लागि बलियो सीपयुक्त जनशक्ति तयार गर्न टेवा पुग्ने बताउनु भयो।
विद्यार्थीको सिकाईलाई अझ प्रभावकारी बनाउन र विद्यार्थी जीवनबाटै उद्योग र व्यवसायिक क्षेत्रको अनुभव हासिल गराउन कलेजले विभिन्न व्यवसायिक संस्था र उद्योगहरुविच सहकार्य गर्दै आइरहेको छ।
पोखरा विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजमा इन्जिनियरिङ विधाका विभिन्न विषयहरुमा स्नातक तथा स्नातकोत्तर तहसम्मको पढाई हुने गरेको छ।
प्रकाशित: ७ जेष्ठ २०८३, बिहीबार