
काठमाडौं ।
राष्ट्रिय युवा परिषद्ले प्रदेशस्तरीय स्टार्टअप व्यवसाय प्रदर्शनीका लागि आवेदन दिने म्याद थप गरेको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको परिषद्ले आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी कार्यक्रम आयोजना गर्न लागेको जनाएको हो।
प्रदर्शनी सुदूरपश्चिम प्रदेशको धनगढी, लुम्बिनी प्रदेशको बुटवल, बागमती प्रदेशको हेटौंडा र कोशी प्रदेशको विराटनगरमा आयोजना गरिने परिषद्ले जनाएको छ। प्रत्येक प्रदेशबाट १५/१५ वटा सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय छनोट गरिनेछ।
परिषद्का अनुसार सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय दर्ता गरी व्यवसाय सञ्चालन गरिरहेका १६ वर्ष पूरा गरी ४० वर्ष ननाघेका युवा व्यवसायीले आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति २०८३ असोज १४ गते राति १२ बजेसम्म तोकिएको छ।
आवेदन परिषद्को वेबसाइट मा रहेको अनलाइन फारम प्रणालीमार्फत गर्न सकिने जनाइएको छ।
प्रत्येक प्रदेशमा छनोट हुने १५/१५ वटा व्यवसायलाई स्टल व्यवस्थापन वापत प्रति स्टल १० हजार रुपैयाँ उपलब्ध गराइनेछ। साथै प्रदर्शनीमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने दुई वटा व्यवसायलाई क्रमशः ४० हजार, ३० हजार, २० हजार र १०/१० हजार रुपैयाँ प्रोत्साहन रकम प्रदान गरिने परिषद्ले जनाएको छ।
आवेदनका लागि स्टार्टअप व्यवसाय वा उद्यम दर्ता अनुमति पत्र, नेपाली नागरिकताको प्रमाणपत्र, पछिल्लो तीन महिनाको बैंक स्टेटमेन्ट, अडिट रिपोर्ट, करचुक्ता प्रमाणपत्र लगायत कागजात आवश्यक पर्नेछन्।
प्रकाशित: ६ जेष्ठ २०८३, बुधबार