प्रतिनिधि सभाको बैठक र प्रक्रियामा एआईको प्रयोग र मतदानमा ई-भोटिङ लागू गराउन सांसद आचार्यको माग

  • Technology Khabar | ४ जेष्ठ २०८३, सोमबार
प्रतिनिधि सभाको बैठक र प्रक्रियामा एआईको प्रयोग र मतदानमा ई-भोटिङ लागू गराउन सांसद आचार्यको माग
Oplus_16908288

काठमाडौं ।

प्रतिनिधि सभाका सदस्य विपिन कुमार आचार्यले सभाले बनाईरहेको नयाँ नियमावली प्रविधिमैत्री अझ आर्टिफिसियल इन्टेलिजेन्समैत्री बनाउन सुझाब दिएका छन्। यसैगरी उनले बैठकमा हुने मतदानमा ई-भोटिङ लागू गराउन माग गरेका छन्।

उनले आज प्रतिनिधि सभाको बैठकमा बोल्दै संसद् सञ्चालनका विधि र प्रक्रिया कर्मकाण्डी भएको र कोही सांसद यहाँ ननिदाईकन बैठकमा बस्छ भने उसलाई सम्मान नै गर्नुपर्ने स्थिति रहेको बताएका हुन्। उनले यो विडम्बनापूर्ण अवस्था अब परिवर्तन हुनुपर्ने बताए।

“आज आर्टिफिसियल इन्टेलिजेन्सको यो जमानामा हामी बाहिर ‘डिजिटाइजेसन’ र ‘ई-गभर्नेन्स’का लामा-लामा भाषण त गर्छौँ, तर हाम्रो आफ्नै संसदीय अभ्यासमा प्रविधिको न्यूनतम प्रयोग पनि छैन। केहि दिन अगाडी मात्र विपक्षी दलको नीति तथा कार्यक्रममाथिको संशोधन पास वा फेल गर्न लागेको समयलाई नै सम्झिऔँ; ई-भोटिङ (E-voting) मार्फत दुई मिनेटमा टुंगिने प्राविधिक विषयलाई हामीले २ घण्टा लगायौँ,” सांसद आचार्यले भने, “अब प्रविधिको उच्चतम सदुपयोग गरी सांसदहरूको पनि सही सदुपयोग गरौँ। सांसदलाई सही अर्थमा ‘बिजनेस’ दिऊँ, जहाँ उसले आफ्नो क्षमता र विज्ञता प्रमाणित गर्न सकोस्।”

यसैगरी उनले संसदीय अभ्यासमा ‘सत्तापक्ष विरुद्ध प्रतिपक्ष’ को मनोविज्ञान नराम्रोसँग हावी रहेको भन्दै कुनै पनि विषयलाई त्यसको ‘गुण र दोष’ (Merit) का आधारमा हेर्न नै आउउने अवस्था रहेको उल्लेख गरे। यसमा सत्तापक्ष र प्रतिपक्ष दुबैको अवस्था कमजोर र उस्तै भएको बताए।

सांसद आचार्यले कुन-कुन अवस्थामा मात्र सांसद सदनमा अनुपस्थित हुन पाउँछ, त्यसको स्पष्ट मापदण्ड तय गर्नुपर्ने बताए। उनले भने, “एउटा सांसद संसदीय काम कारबाहीमा कति सक्रिय रह्यो यी सबै कुराको ट्र्याकिङ बायोमेट्रिक र पब्लिक टाइम-ट्र्याकिङ प्रणालीमार्फत गरौँ, जसले सांसदलाई सिधै नागरिकप्रति जबाफदेही बनाउन सकोस्।”

प्रतिनिधि सभा नियमावलीमा सम्भव भएसम्म ‌कुनै पनि किसिमका ‘ग्रे जोन’ (अस्पष्टता) हरू नराख्न र एकपटक नियमावली पास गरिसकेपछि नियमावलीको पालना गरौँ र पालना नगर्ने विषयलाई संसदको अवहेलना मानी कारबाही गर्न माग गरेका छन्।

सांसद आचार्यले नयाँ बन्ने नियमावलीले बैठकको यान्त्रिक परम्परालाई तोड्न सक्नुपर्ने बताए।

“‘एआई’ले वर्षौँ लाग्ने कामलाई मिनेटमै गरिदिने यो दुनियाँमा, हामीले निर्माण गर्ने नियमावलीले समयको त्यो गतिलाई आत्मसात् गर्न सकोस् र यो संसद्‌लाई साँच्चिकै ‘गुण र दोष’ माथि बहस गर्ने पारदर्शी, उत्तरदायी , पारदर्शी र टेक्नोलोजी इनेबलड मोडर्न थलो बनाउन सकोस्,” उनले भने।

प्रकाशित: ४ जेष्ठ २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

अधिकांश सरकारी वेबसाइटमा समस्या

  • Technology Khabar
  • ४ जेष्ठ २०८३, सोमबार