पर्सिभेरन्स रोभरले मंगल ग्रहको जेजेरो क्रेटरबाट यसरी सार्वजनिक गर्यो आफ्नो छैटौं सेल्फी

  • Technology Khabar | ४ जेष्ठ २०८३, सोमबार
पर्सिभेरन्स रोभरले मंगल ग्रहको जेजेरो क्रेटरबाट यसरी सार्वजनिक गर्यो आफ्नो छैटौं सेल्फी

काठमाडौं ।

नासाको पर्सिभेरन्स रोभरले हालै मंगल ग्रहको जेजेरो क्रेटरको पश्चिमतर्फको यात्राका क्रममा आफ्नो छैटौं सेल्फी सार्वजनिक गरेको छ।

उता स्याटेलाइट मेगाकन्स्टेलेसन प्रक्षेपणबाट हुने प्रदूषणबारे अध्ययन गरिरहेका अनुसन्धानकर्ताहरूले यस्ता प्रक्षेपणबाट निस्किने कालो धुवाँले जलवायुमाथि चिन्ताजनक असर पार्न सक्ने बताएका छन्।

पछिल्ला पाँच वर्षदेखि पर्सिभेरन्स रोभरले मंगल ग्रहको जेजेरो क्रेटर क्षेत्रमा अध्ययन गरिरहेको छ। यो क्षेत्र प्राचीन सूक्ष्मजीव जीवनका संकेत भेट्टाउन सम्भावित स्थान मानिन्छ। हालै रोभर क्रेटरको किनारभन्दा बाहिर गएर टोलीले अहिलेसम्म अन्वेषण गरेको सबैभन्दा पश्चिमी क्षेत्रमा पुगेको थियो। त्यही क्षण कैद गर्न यसले एउटा सेल्फी पनि खिचेको हो।

नासाले यस साता सार्वजनिक गरेको तस्वीरमा पर्सिभेरन्स “लाक दे चार्म्स” क्षेत्रमा रहेको “अराथुसा” नामक चट्टानी भागमा देखिन्छ। नासाले ब्लग पोस्टमा लेखेअनुसार यो रोभरले अहिलेसम्म अध्ययन गरेको सबैभन्दा वैज्ञानिक रूपमा महत्वपूर्ण भूभागमध्ये एक हो।

मार्च ११ मा रोभरको रोबोटिक हातमा जडित क्यामेराले खिचेका ६१ तस्वीर मिलाएर बनाइएको एनिमेटेड संस्करणमा पर्सिभियरन्सले वरपर हेर्न क्यामेरा घुमाएको दृश्य पनि देख्न सकिन्छ। त्यसपछि रोभर “आर्बोट” नामक अर्को क्षेत्रमा पुगेको छ।

इन्ग्याजेटका अनुसार नासाले अप्रिल ५ मा रोभरको मास्टक्याम–जेड क्यामेराले खिचेका ४६ तस्वीर जोडेर तयार गरिएको विस्तृत पानोरामिक दृश्य पनि सार्वजनिक गरेको छ।

सामान्य आँखाले हेर्दा धेरै विशेष नदेखिए पनि नासाका अनुसार त्यहाँ धेरै महत्वपूर्ण भू–आकृतिहरू छन्। केही चट्टान गगनचुम्बी भवनजत्तिकै ठूला छन् र करिब ३.९ अर्ब वर्षअघि उल्कापिण्ड ठोक्किएपछि त्यहाँ पुगेका हुन सक्ने अनुमान गरिएको छ।

केन फार्लीका अनुसार यी तस्वीरमा देखिएका चट्टानहरू सम्भवतः यो अभियानमा अध्ययन गरिने सबैभन्दा पुराना चट्टान हुन्। त्यहाँ ज्वालामुखीजन्य म्याग्मा जमेर बनेको ठाडो संरचना पनि हुन सक्ने अनुमान गरिएको छ, जुन वरपरका नरम भाग क्षय भएपछि मात्रै बाँकी रहेको हो।

तस्वीर खिच्नुका साथै पर्सिभियरन्सले चट्टानका नमुना संकलन गर्ने र तिनको सतह घोटेर संरचना विश्लेषण गर्न सकिने बनाउने काम पनि गरिरहेको छ। अहिले रोभर आर्बोट क्षेत्रका चट्टानी भागहरूको अध्ययनमै केन्द्रित छ। त्यसपछि यो दक्षिणतर्फ रहेको “गार्डेभार्री” क्षेत्रमा जाने तयारीमा छ।

उता, पछिल्लो दशकमा स्याटेलाइट प्रक्षेपणको संख्या तीव्र रूपमा बढेको छ। यसको मुख्य कारण ‌स्पेसएक्सजस्ता कम्पनीहरूको व्यावसायिक गतिविधि हो।

२०१९ यता स्पेसएक्सले आफ्नो स्टारलिङ्क मेगाकन्स्टेलेसन निर्माणका लागि करिब १२ हजार स्याटेलाइट प्रक्षेपण गरिसकेको छ। खगोलविद् जोनाथन म्याक्डोवलका अनुसार तीमध्ये १०,३०० भन्दा बढी अहिले कक्षामा सञ्चालनमा छन्।

यससँगै अमेजन लगायत अन्य कम्पनीहरूले पनि प्रतिस्पर्धाका लागि आफ्नै स्याटेलाइट समूह निर्माण प्रयास तीव्र पारेका छन्। अनुसन्धानकर्ताहरूका अनुसार यसले पृथ्वीको वायुमण्डलमा प्रदूषण बढाइरहेको छ।

यस साता ‌क्लाइमेट साइन्ससम्बन्धी जर्नल “अर्थ्स फ्युचर” मा प्रकाशित अध्ययनअनुसार मेगाकन्स्टेलेसन प्रक्षेपणबाट २०२९ सम्म प्रत्येक वर्ष करिब ८७० मेट्रिक टन कालो धुवाँ वायुमण्डलमा पुग्नेछ।

अनुसन्धानकर्ताहरूका अनुसार यस्तो प्रदूषण माथिल्लो वायुमण्डलमा वर्षौंसम्म रहन सक्छ, जसले तल्लो तहको प्रदूषणभन्दा जलवायुमाथि धेरै ठूलो असर पार्न सक्छ। अध्ययनले यस्तो धुवाँले सूर्यको प्रकाश केही कम गरेर पृथ्वीमा हल्का चिसोपन ल्याउन सक्ने देखाएको छ।

इलोइज मराइसले विज्ञप्तिमा भनेकी छन्, “हामीले गणना गरेको सूर्यको प्रकाश घट्ने प्रभाव विश्व तापमान वृद्धिको पृष्ठभूमिमा राम्रो जस्तो लाग्न सक्छ, तर हामी अत्यन्त सावधान हुनुपर्छ।”

उनले अन्तरिक्ष उद्योगबाट हुने प्रदूषणलाई “सानो स्तरको, नियमनविहीन भू–इन्जिनियरिङ प्रयोग” भन्दै यसले अनपेक्षित र गम्भीर वातावरणीय असर ल्याउन सक्ने चेतावनी दिएकी छन्। उनका अनुसार अहिले असर सीमित भए पनि समयमै कदम चालिएन भने भविष्यमा समस्या उल्ट्याउन वा सुधार्न कठिन हुन सक्छ।

अनुसन्धानकर्ताहरूले २०२० मा अन्तरिक्ष क्षेत्रबाट हुने जलवायु असरको करिब ३५ प्रतिशत हिस्सा मेगाकन्स्टेलेसन प्रक्षेपणबाट आएको पाएका छन्। २०२९ सम्म यो हिस्सा ४२ प्रतिशत पुग्न सक्ने अनुमान गरिएको इन्ग्याजेटले उल्लेख गरेको छ।

प्रकाशित: ४ जेष्ठ २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...