
काठमाडौं ।
१८ वर्ष वा त्यसभन्दा माथिका सबै सर्जकका लागि यूट्युबले एआईद्वारा बनाइएका भिडियोमा आफ्नो अनुहार वा स्वरूप नक्कल गरिएको छ कि छैन अर्थात् डीपफेक गरिएको पत्ता लगाउने नयाँ उपकरण उपलब्ध गराउने भएको छ। आगामी केही साताभित्र यो सुविधा विस्तार गरिने कम्पनीले जनाएको छ।
यूट्युबको कम्युनिटी पेजमार्फत गरिएको घोषणामा कम्पनीले “अनधिकृत सामग्री हटाउन सहज रूपमा अनुरोध गर्न सकिने पहुँच दिएर प्रयोगकर्तालाई थप मानसिक सान्त्वना दिनु” आफ्नो लक्ष्य रहेको बताएको छ। स्वरूप पहिचान गर्ने यो उपकरण प्राविधिक रूपमा सिर्जनाकर्ताका लागि मात्रै उपलब्ध भए पनि कम्पनीका प्रवक्ता ज्याक म्यालनले द भर्जसँग कुरा गर्दै जोसुकैले पनि यसलाई प्रयोग गर्न सक्ने बताएका छन्।
“यो विस्तारसँगै, दशकौँदेखि यूट्युबमा सामग्री अपलोड गरिरहेका सिर्जनाकर्तादेखि भर्खर सुरु गर्नेहरूसम्म सबैले समान स्तरको सुरक्षा पाउने कुरा स्पष्ट पारिरहेका छौं,” मालोनले वक्तव्यमा भने।
हाल वास्तविक र एआईद्वारा बनाइएका भिडियो छुट्याउन झन् कठिन बन्दै गएको अवस्थामा यो उपकरणको व्यापक उपलब्धताले सामान्य व्यक्तिहरूलाई समेत फाइदा पुग्न सक्ने बताइएको छ। विशेषगरी कसैले आफ्नो अनुहार दुरुपयोग गरी भ्रामक वा हानिकारक एआई भिडियो बनाएको खण्डमा यसले पहिचान गर्न सहयोग गर्नेछ।
सर्जकका लागि भने अनुमति बिना ब्रान्ड वा कम्पनीहरूले आफ्नो स्वरूप प्रयोग गरेर उत्पादन वा सेवा प्रचार गरेको पत्ता लगाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
यूट्युबले पहिलो पटक यो उपकरणको झलक २०२४ मा देखाएको थियो भने २०२५ को अन्त्यतिर सार्वजनिक प्रयोगमा ल्याएको थियो। सुरुमा यो सुविधा पार्टनर प्रोग्राम सदस्यहरूका लागि मात्र उपलब्ध थियो।
ती सदस्यहरू हुन् जसले कम्तीमा १,००० सदस्य प्राप्त गरी निश्चित समयभित्र आवश्यक वाच आवर वा सर्ट्स भ्यु पूरा गरेर आफ्नो च्यानलबाट आम्दानी गर्न थालेका हुन्छन्। पछि यूट्युबले यो उपकरण पत्रकार र राजनीतिज्ञहरूलाई पनि उपलब्ध गराएको थियो।
इन्ग्याजेटका अनुसार नयाँ उपकरण प्रयोग गर्न चाहनेहरूले कम्प्युटरबाट यूट्युब स्टुडियोमा गएर दर्ता गर्नुपर्ने हुन्छ। त्यसका लागि “कन्टेन्ट डिटेक्सन” अन्तर्गत रहेको “लाइकनेस” विकल्पमा गएर मोबाइलमार्फत क्यूआर कोड स्क्यान गर्नुपर्नेछ। त्यसपछि सरकारी परिचयपत्र बुझाउनुका साथै सेल्फी भिडियो प्रमाणीकरण प्रक्रिया पूरा गर्नुपर्नेछ।
सेटअप पूरा भएपछि यूट्युबले अपलोड भएका भिडियोहरूमा प्रयोगकर्ताको अनुहारसँग मिल्ने सम्भावित सामग्री खोज्नेछ। यदि कुनै भिडियोमा मिल्दोजुल्दो स्वरूप भेटिए “लाइकनेस” ट्याबमै देखाइनेछ। त्यसपछि प्रयोगकर्ताले भिडियो समीक्षा गरी हटाउन अनुरोध पठाउन सक्नेछन्, जहाँ आफ्नो स्वरूप कसरी प्रयोग गरिएको थियो भन्ने विवरण दिन सकिनेछ।
यूट्युबले मूल्यांकनका लागि भिडियोमा प्रयोगकर्ताको आवाज पनि नक्कल गरिएको हो कि भनेर सोध्नेछ। तर यो उपकरणले हाल आवाजका आधारमा मात्रै पहिचान गर्न भने सक्दैन।
प्रकाशित: ४ जेष्ठ २०८३, सोमबार