
काठमाडौं ।
पहिलो त्रैमासमा अन्य कम्पनीहरू कमजोर भइरहेका बेला एप्पलले अमेरिकामा सफलता हासिल गर्दै आइफोन बिक्रीलाई वार्षिक रूपमा १.३ प्रतिशतले बढाएको छ।
आइफोन १७ प्रति बढ्दो माग र सामसङको ग्यालेक्सी एस२६ ढिलो सार्वजनिक हुँदा एप्पलले समग्र बजारलाई सहजै उछिनेको हो। यस अवधिमा अमेरिकी स्मार्टफोन बजारमा ढुवानी ५.७ प्रतिशतले घटेको थियो।
टेलिकम्स डटकमका अनुसार यो तथ्याङ्क काउन्टरपोइन्ट रिसर्चले सार्वजनिक गरेको हो। कम्पनीका अनुसार गत वर्षको अन्त्यतिर आपूर्ति समस्याका कारण नयाँ आइफोनहरूको माग यो वर्षसम्म पनि कायम रह्यो। त्यस्तै, ग्यालेक्सी एस२६ मार्चको मध्यसम्म मात्रै सार्वजनिक भएकाले प्रिमियम स्मार्टफोन बजारमा खालीपन सिर्जना भएको थियो।
काउन्टरपोइन्टका वरिष्ठ विश्लेषक टायलर ग्राहमले भने, “अमेरिकाको प्रिमियम स्मार्टफोन बजार अन्य बजारको तुलनामा निकै सीमित कम्पनीहरूको नियन्त्रणमा छ। यहाँ एप्पल, गुगल, सामसङ र केही हदसम्म मोटोरोलाको अधिकांश बिक्री हुन्छ। कुनै कम्पनीले आफ्नो प्रमुख फोन सार्वजनिक गर्न ढिलाइ गर्दा अरूका लागि अवसर खुल्छ। एप्पलले त्यही अवसरको फाइदा उठायो।”
एटी एन्ड टी, टी–मोबाइल र भेराइजनमा एप्पलको स्मार्टफोन बिक्री हिस्सा २०२५ को पहिलो त्रैमासको ७२ प्रतिशतबाट बढेर ७५ प्रतिशत पुगेको छ।
काउन्टरपोइन्टका अनुसार एप्पलले सस्तो मोडल आइफोन १७ई मा पनि राम्रो रणनीति अपनाएको छ। कम्पनीले अघिल्लो मोडलकै मूल्य कायम राख्दै आधारभूत मोडलको स्टोरेज २५६ जीबी पुर्याएको छ, जबकि र्याम लगायतका कम्पोनेन्टको मूल्य बढिरहेको छ।
काउन्टरपोइन्टका अनुसार क्लाउड र मनोरञ्जन सेवाहरूको बलियो पोर्टफोलियो भएकाले एप्पललाई बढी लचकता मिलेको छ। त्यसैले एन्ड्रोइडमा आधारित प्रतिस्पर्धी कम्पनीहरूलाई एप्पलसँग प्रतिस्पर्धा गर्न चुनौती हुन सक्छ।
अमेरिकी स्मार्टफोन बजारमा भने कम मूल्यका फोनहरू सबैभन्दा बढी प्रभावित भएका छन्।
काउन्टरपोइन्टले उल्लेख गरेअनुसार कम आम्दानी भएका परिवारले गत वर्षको तुलनामा बढी कर फिर्ता रकम पाए पनि त्यो उच्च आम्दानी समूहको तुलनामा कम थियो। साथै पेट्रोलको मूल्य बढ्दा त्यसको प्रभाव पनि कम भयो।
काउन्टरपोइन्टका वरिष्ठ विश्लेषक मोरिस क्लेह्नेले भने, “अमेरिकामा प्रिपेड फोन बजारका लागि कर तिर्ने समय निकै महत्त्वपूर्ण हुन्छ। यसले सस्तो फोनको बिक्री बढाउन मद्दत गर्छ। तर यस वर्ष त्यस्तो भएन।”
सामसङ र मोटोरोलाले भने यो कठिन अवस्थालाई अरूको तुलनामा राम्रोसँग सामना गरिरहेका छन्। प्रिपेड फोन बिक्रीमा यी दुई कम्पनीको संयुक्त हिस्सा ५८ प्रतिशतबाट बढेर ६५ प्रतिशत पुगेको छ।
काउन्टरपोइन्टका अनुसार मेमोरी चिपको मूल्य बढ्दै जाँदा र नाफा घट्दै जाँदा सस्तो स्मार्टफोन बजारमा अझै धेरै कम्पनीहरूले आफ्नो उत्पादन रणनीति पुनर्विचार गर्न सक्नेछन्।
कम्पनीले भन्यो, “टीसीएल र एचएमडीजस्ता कम मूल्यका स्मार्टफोन कम्पनीहरूले नयाँ मोडल सार्वजनिक गर्न ढिलाइ गरेका छन्, केही बजारबाट बाहिरिएका छन्, वा मोटोरोल र सामसङको मार्केटिङ क्षमतासँग प्रतिस्पर्धा गर्न कठिनाइ भइरहेको छ।”
अमेरिकामा देखिएको अवस्था विश्वव्यापी स्मार्टफोन बजारसँग पनि मिल्दोजुल्दो छ।
आईडीसीका अनुसार यस वर्षको पहिलो त्रैमासमा विश्वभर २८ करोड ९७ लाख स्मार्टफोन ढुवानी भएका छन्, जुन गत वर्षभन्दा ४.१ प्रतिशत कम हो।
अनुसन्धान कम्पनी आईडीसीले र्याम अभावका कारण मूल्य बढेको र त्यसले माग घटाएको जनाएको छ। विशेषगरी सस्तो बजारमा बढी निर्भर रहेका केही कम्पनीहरूले उत्पादन लागत नियन्त्रण गर्न केही मोडलका विशेषता घटाउनुपरेको पनि जनाएको छ।
यसको असरस्वरूप विश्वका शीर्ष पाँच स्मार्टफोन निर्माता कम्पनीमध्ये एप्पल र सामसङ मात्रै वार्षिक रूपमा वृद्धि गर्न सफल भएका छन्।
एआई उद्योगले डाटा सेन्टरका लागि ठूलो मात्रामा र्याम प्रयोग गरिरहेकाले स्मार्टफोन बजारले निकट भविष्यमा राहत पाउने सम्भावना कम रहेको बताइएको छ।
प्रकाशित: १ जेष्ठ २०८३, शुक्रबार