
काठमाडौं ।
सामसङले इलेक्ट्रोनिक्सले भारतमा आधिकारिक रूपमा रिफर्बिस्ड स्मार्टफोन बिक्री सुरु गरेको छ।
कम्पनीले आफ्नो ‘सर्टिफाइड रिफर्बिस्ड’ कार्यक्रम भारतमा ल्याएको हो। यस कार्यक्रममार्फत स्यामसङले आधिकारिक रूपमा मर्मत तथा पुनःतयार गरिएका स्मार्टफोनहरू छुट मूल्यमा बिक्री गरिरहेको छ।
हाल ग्राहकहरूले २५६ जीबी स्टोरेज भएको सामसङ ग्यालेक्सी एस२५ अल्ट्रालाई ९७ हजार ४९९ भारतीय रुपैयाँमा, २५६ जीबी स्टोरेज भएको सामसङ ग्यालेक्सी एस२५ लाई ५८ हजार ७४९ भारतीय रुपैयाँमा, ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको सामसङ ग्यालेक्सी ए५६ लाई ३१ हजार ४९९ भारतीय रुपैयाँमा, १२ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको ग्यालेक्सी ए५६ लाई ३२ हजार ७४९ भारतीय रुपैयाँमा तथा १२८ जीबी स्टोरेज भएको सामसङ ग्यालेक्सी ए३६ लाई २३ हजार २४९ भारतीय रुपैयाँमा खरिद गर्न सक्नेछन्।
टेलिग्राफका अनुसार बिक्रीअघि यी सबै उपकरणलाई “कडाइका साथ सफा, परीक्षण र नयाँजस्तै अवस्थामा पुनःतयार” गरिएको स्यामसङले जनाएको छ।
यो काम स्यामसङबाट स्वीकृत प्राविधिकहरूले स्यामसङकै स्वीकृत केन्द्रमा गर्नेछन्। फोनहरूमा नवीनतम सफ्टवेयर इन्स्टल गरिएको हुन्छ र नयाँ उपकरणसरह एक वर्षको वारेन्टी पनि उपलब्ध हुनेछ।
स्यामसङका विशेषज्ञहरूले प्रत्येक उपकरणको भित्री र बाहिरी सबै भाग परीक्षण गरी गुणस्तर र सही कार्यक्षमता सुनिश्चित गर्नेछन्। यदि कुनै पार्ट्स बदल्नुपरेमा स्यामसङकै आधिकारिक पार्ट्स मात्र प्रयोग गरिने कम्पनीले जनाएको छ।
त्यसपछि प्रत्येक उपकरणले विस्तृत परीक्षण प्रक्रिया पार गर्नुपर्ने हुन्छ। परीक्षणपछि उपकरणलाई आधिकारिक बक्समा क्विक स्टार्ट गाइड, डाटा केबल र सिम इजेक्टर पिनसहित प्याक गरिन्छ। यी फोनहरू अनलक हुने भएकाले सबै नेटवर्कमा प्रयोग गर्न सकिनेछ।
प्रकाशित: ३१ बैशाख २०८३, बिहीबार