
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रवाहलाई चुस्त, दुरुस्त, प्रभावकारी रूपमा आम-उपभोक्ताहरुलाई उपलब्ध गराई उपभोक्ता हक/हित संरक्षण कायम हुने गरी उपभोक्ताहरूबाट प्राप्त गुनासा/उजुरीहरू यथाशक्य समाधानको व्यवस्था गर्न/गराउन सम्बन्धित सबै सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ।
आफ्ना ग्राहकहरूलाई ऐन, नियम, विनियम, कार्यविधि तथा शर्तको परिधि भित्र रही आम उपभोक्तालाई प्रदान गरिने सेवा प्रवाह चुस्त, दुरुस्त, प्रभावकारी रूपमा गर्नु प्राधिकरणबाट अनुमतिपत्र प्राप्त दूरसञ्चार सेवा प्रदायकहरुको कर्तव्य भएको भन्दै गुणस्तर कायम गर्न भनेको हो।
तर हालका दिनहरूमा तोकिएको गुणस्तर बमोजिमको सेवा प्रवाह नभएको ग्राहकहरूबाट सेवाको गुणस्तर लगायत अन्य विषयहरूमा असन्तुष्ट जाहेर गरी प्राधिकरणको इमेल, प्राधिकरणले सञ्चालन गरिरहेको गुनासो व्यवस्थापन प्रणाली (सीएचएस) साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सञ्चालन गरिरहेको हेलो सरकार पोर्टलमा दूरसञ्चार सेवाका उपभोक्ताहरुबाट गुनासो/उजुरीहरूको संख्या उल्लेख्य रूपमा वृद्वि भइरहेको प्राधिकरणको भनाई छ।
सोही सन्दर्भमा ऐन, नियम, विनियम, कार्यविधि तथा शर्तको अधिनमा रही दूरसञ्चार सेवा प्रदायकहरूले आफ्नो जिम्मेवारी बमोजिम गुणस्तरीय सेवा प्रवाह नगरी प्राधिकरणमा गुनासो/उजुरी पर्न आएको खण्डमा आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइने चेतावनसहितको निर्देशन प्राधिकरणबाट आएको हो।
प्रकाशित: ३० बैशाख २०८३, बुधबार