
काठमाडौं ।
अमेरिकाले चिनियाँ कम्पनी डीजेआईका नयाँ ड्रोन मोडेलहरूको आयात र बिक्रीमा प्रतिबन्ध लगाएको छ, तर त्यसको विकल्पका रूपमा स्वदेशमै पर्याप्त उत्पादन क्षमता भने अझै निर्माण गर्न नसकेको प्रविधि मिडिया द नेक्स्ट वेबले जनाएको छ।
विश्लेषणअनुसार डीजेआईले अमेरिकी उपभोक्ता तथा व्यावसायिक ड्रोन बजारको करिब ८० प्रतिशत हिस्सा नियन्त्रण गरेको थियो। राष्ट्रिय सुरक्षासम्बन्धी कारण देखाउँदै कम्पनीलाई संघीय सञ्चार नियोग (एफसीसी) को कालोसूचीमा राखिएपछि प्रतिबन्ध लागू गरिएको हो। अमेरिकाका लागि मुख्य समस्या केवल ड्रोन उत्पादन मात्र नभई चिनियाँ आपूर्ति शृंखलामाथिको निर्भरता पनि हो।
टेलिग्राफका अनुसार चीनले दुर्लभ धातु प्रशोधनको करिब ९० प्रतिशत, ड्रोन ब्याट्री उत्पादनको ९९ प्रतिशत तथा ड्रोन मोटरमा प्रयोग हुने अधिकांश चुम्बकको उत्पादन नियन्त्रण गर्छ।
अमेरिकी कम्पनी स्काइडियोले अमेरिकामै उत्पादन विस्तार गर्न र स्वदेशी आपूर्ति शृंखला निर्माण गर्न ३.५ अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ। तर विज्ञहरूले डीजेआईसँग प्रतिस्पर्धा गर्न सक्ने उद्योग निर्माण गर्न अझै धेरै वर्ष लाग्न सक्ने चेतावनी दिएका छन्।
यसबीच डीजेआईले एफसीसीविरुद्ध मुद्दा दायर गर्दै प्रतिबन्ध अन्यायपूर्ण भएको र राष्ट्रिय सुरक्षामाथि खतरा रहेको कुनै ठोस प्रमाण प्रस्तुत नगरिएको दाबी गरेको छ।
प्रकाशित: २७ बैशाख २०८३, आईतवार