
काठमाडौं ।
सोनीले चाँडै प्लेस्टेशन स्टोरसम्बन्धी क्लास एक्शन मुद्दा ७.८ मिलियन डलरमा टुंग्याउने भएको छ।
सान फ्रान्सिस्कोका एक संघीय न्यायाधीशले सोनीविरुद्ध दायर गरिएको सामूहिक मुद्दामा प्रस्तावित ७.८५ मिलियन डलरको समझौतामा प्रारम्भिक स्वीकृति दिएका छन्। उक्त मुद्दामा सोनीले प्लेस्टेशन स्टोरमार्फत डिजिटल खेलको बजारमा प्रतिस्पर्धा हटाएर एकाधिकार कायम गरेको आरोप लगाइएको थियो।
यो मुद्दा पहिलोपटक मे २०२१ मा दायर गरिएको थियो र सोनीको कथित प्रतिस्पर्धाविरोधी व्यवहारका कारण गेमरहरूले “केही डिजिटल खेलका लागि उनीहरूले तिर्नु पर्नेभन्दा बढी रकम तिरे” भन्ने दावी गरिएको छ।
अप्रिल २०१९ मा सोनीले तेस्रो पक्ष कम्पनीहरूले बेच्ने “खेल-विशेष भाउचर” हटाएपछि यो कानुनी कारबाही सुरु भएको हो। मुद्दामा ‘यदि बेस्ट बाई, गेमस्टपजस्ता अन्य खुद्रा बिक्रेतामार्फत विकल्पहरू उपलब्ध भएका भए प्लेस्टेशन स्टोरमा मूल्य कम हुन सक्थ्यो’ भनिएको छ।
प्रभावित प्रयोगकर्ताहरूको प्रतिनिधित्व गर्ने कानुनी फर्मले योग्य खेलहरूको सूची सार्वजनिक गरेको छ जसमा द लास्ट अफ अस, एनबीए २के१८ र नीड फर स्पीड राइभल्सलगायत समावेश छन्।
साथै ४.४ मिलियनभन्दा बढी प्लेस्टेशन नेटवर्क खाताहरू यसका लागि योग्य रहेको बताइएको छ। यो सामूहिक समझौतामा पर्ने प्रयोगकर्ताहरूले अन्तिम स्वीकृति आएपछि आफ्नो पीएसएन खातामा क्रेडिट पाउनेछन्। अदालतले अक्टोबर १५ मा सुनुवाई गर्नेछ जहाँ अन्तिम निर्णय र योग्य खाताहरूमा रकम वितरण गर्ने योजना तय गरिनेछ।
यो मुद्दा बेलायतमा दायर गरिएको यस्तै अर्को कानुनी कारबाहीभन्दा अलग रहेको उल्लेखनीय छ।
उक्त सामूहिक मुद्दामा सोनीले प्लेस्टेशन स्टोरमार्फत डिजिटल खेल र इन-गेम सामग्रीका लागि बेलायती ग्राहकहरूसँग “अनुचित रूपमा बढी शुल्क लिएको” आरोप लगाइएको छ। हालको सम्झौताभन्दा फरक, उक्त मुद्दामा सोनीले बेलायतका उपभोक्तालाई अधिकतम २.७ अर्ब डलरसम्म तिर्नु पर्ने सम्भावना रहेको छ।
प्रकाशित: २३ बैशाख २०८३, बुधबार