
काठमाडौं ।
नेपाल प्रहरीले स्मार्ट टेलिकमका संचालक सर्वेश जोशीलाई पक्राउ गरेको छ।
उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसूरमा बैशाख २१ गते सोमबारखुर्सानीटार काठमाडौंबाट पक्राउ गरेको हो।
नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७० बैशाख २ गते दूरसञ्चार सेवा सञ्चालन गर्नको लागि आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र (नं. BTSL-01) लिई सञ्चालन भएको “स्मार्ट टेलिकम प्रा. लि.” ले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेको कारणबाट दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम मिति २०८०/०१/०३ गतेदेखि अनुमतिपत्र स्वतः रद्द भएको थियो।
जसले दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १८ बमोजिम सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएकोमा नेपाल सरकारको सम्पत्ति बेइमानी पूर्वक नेपाल सरकारको हक टुटाउने उद्देश्यका साथ कार्य गरी गराई ठगी तथा आपराधिक विश्वासघातको कसूर गरेको आरोप छ।
उनलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति समेत लिई २०८३ बैशाख२१ गते पक्राउ गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २२ बैशाख २०८३, मंगलवार