अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने

  • Technology Khabar | २१ बैशाख २०८३, सोमबार
अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने

काठमाडौं ।

कम्बोडिया सरकारले अनलाइन स्क्यामिङमा संलग्नलाई कसुरको प्रकृतिअनुसार पाँच लाख अमेरिकी डलरसम्म जरिवाना र आजीवन कैदसम्मको सजाय हुने व्यवस्था सहित नयाँ कानुन लागू गरेको छ।

थाइल्याण्डस्थित नेपाली दूतावासका अनुसार कम्बोडियाले अनलाइन स्क्यामिङ एक अन्तरदेशीय अपराध भएको उल्लेख गर्दै त्यस्ता गतिविधि नियन्त्रण तथा अन्त्य गर्न गत हप्तादेखि सो कानुन लागू गरेको हो।

कम्बोडिया सरकारले अनलाइन स्क्यामिङ केन्द्रहरू बन्द गर्ने, नष्ट गर्ने तथा त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाएको छ।

दूतावासले विभिन्न उद्देश्यले, विशेष गरी पर्यटनको बहानामा कम्बोडिया गई  भिसा अवधि समाप्त भएपछि पनि धेरै नेपाली नागरिक त्यहाँ बसिरहेको जनाइएको छ। साथै, केही नेपाली नागरिक अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ केन्द्रहरूमा संलग्न रहेको जानकारी प्राप्त भएको दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

आफूलाई प्राप्त भिसा अवधिभन्दा बढी समय कम्बोडियामा नबस्न, कुनै  पनि गैरकानुनी गतिविधिमा संलग्न नहुन तथा यदि त्यस्ता कार्यमा संलग्न रहेको भए तुरुन्त बन्द गरी नेपाल फर्कन राजदूतावासले अनुरोध गरेको छ।

दूतावासले उच्च तलब तथा आकर्षक सुविधाको प्रलोभनमा परी पर्यटकीय भिसामा कम्बोडियालगायत अन्य मुलुकहरूमा रोजगारीका लागि नजान अनुरोध गर्दै आएको छ।

साथै दूतावासले वैदेशिक रोजगारीका लागि विदेश जानु अघि नेपालस्थित वैदेशिक रोजगार विभाग तथा सम्बन्धित मुलुकमा रहेका नेपाली राजदूतावास वा नेपाली वाणिज्यदूतावाससँग सम्पर्क गर्न अनुरोध गरेको छ। रोजगारदाता संस्था तथा रोजगारीको आधिकारिकता यकिन गरी वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जानुपर्ने दूतावासको भनाइ छ।

नेपाल फर्कन सहजीकरण गर्ने उद्देश्यले राजदूतावासले कम्बोडियामा रहेका नेपाली नागरिकको तथ्याङ्क तथा सूचना सङ्कलन गरिरहेको हुँदा अनलाइन फाराम भरी सहयोग गरिदिनु हुन अनुरोध गरेको छ।

आफूलाई कम्बोडिया पुर्याउने व्यक्ति उपर नेपाल फर्केपछि तथा कम्बोडियाबाट नै पनि नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान व्युरोमा उजुरी गर्नका लागिसमेत अनुरोध गरिएको छ।

प्रकाशित: २१ बैशाख २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार