
काठमाडौं ।
नेपालमा चालु आर्थिक वर्षको नवौं महिना चैत्र मसान्तसम्म २६ करोड रुपैयाँमाथिको बीटीएस टावर (बेस स्टेशन) आयात भएको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को चैत्र मसान्तसम्म २६ करोड ३३ लाख १७ हजार रुपैयाँ बराबरको ४८९ थान बेस स्टेशन आयात भएको हो।
उक्त परिमाणको बेस स्टेशन आयातबाट सरकारले यो अवधिमा ५५ लाख ७८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।
नेपालमा यो अवधिमा विश्वका विभिन्न ६ मुलुकबाट बेस स्टेशन आयात भएको विभागको तथ्यांकमा देखिन्छ। यस अघिका महिनाहरुमा पनि ६ मुलुकबाटै बेस स्टशेन आएका थिए।
यीमध्ये सबैभन्दा धेरै चीनबाट २४ करोड ३४ लाख ९७ हजार बराबरको १८३ थान, इटलीबाट १ करोड ३२ लाख ५० हजार बराबरको २८६ थान तथा मलेसियाबाट १ लाख ८८ हजार रुपैयाँ बराबरको ८ थान बेस स्टेशन आयात भएको छ।
अस्ट्रेलियाबाट २२ लाख ८४ हजार रुपैयाँ बराबरको ३ थान तथा फ्रान्सबाट ४० लाख २४ हजार रुपैयाँ बराबरको ६ थान, जर्मनीबाट ७३ हजार बराबरको ३ थान बेस स्टेशन आयात भएको देखिन्छ।
विवरण:
| क्रसं | देश | विवरण | रकम (हजारमा) |
| १ | अष्ट्रेलिया | ३ | २२८४ |
| २ | चीन | १८३ | २४३४९७ |
| ३ | फ्रान्स | ६ | ४०२४ |
| ४ | जर्मनी | ३ | ७३ |
| ५ | इटली | २८६ | १३२५० |
| ६ | मलेसिया | ८ | १८८ |
के हो बीटीएस टावर?
बेस स्टेशनका नामले पनि चिनिने बीटीएसको पूरा रुप बेस ट्रान्सिभर स्टेशन हो। दूरसञ्चार क्षेत्रभित्रको मोबाइल सञ्चारमा बीटीएस टावरले तरंगहरु पठाउने र पाउने हिसाबले रेडियो ट्रान्सिभरहरुलाई बोक्ने गर्छन्। यिनै ट्रान्सिभरहरुले हावामा तरंगित रेडियो लिंक प्रोटोकललाई हाम्रा मोबाइलसम्म पुर्याएर मोबाइल मार्फत् हुने कुराकारी सफल हुन भद्दत गर्दछन्।
बीटीएस टावरलाई सामान्य भाषामा मोबाइल टावरका रुपमा चिनिन्छ। हामीले विभिन्न ठाउँमा अग्ला डाँडा वा भवनको छतमा देख्ने अधिकांश टावरहरु बीटीएस टावर नै हुन्।
किन आउँछन् बीटीएस उपकरण?
दूरसञ्चार क्षेत्रमध्येको मोबाइल सञ्चारको मुख्य मेरुदन्ड भनेको एक ठाउँबाट पठाइएको सन्देशलाई अर्को ठाउँमा रहेको मोबाइलसम्म पुर्याउने उकपकरण नै हुन्। यिनै उपकरणलाई अड्याउनका लागि निर्माण गरिने संरचना नै बीटीएस टावर हुन्।
यस हिसाबले नेपालमा पनि दूरसञ्चार सेवाको उपयोग गर्ने प्रवृत्ति बढिरहेको र देशभरका अधिकांश ठाउँका मानिसहरुले मोबाइल फोनको प्रयोग गरिरहँदा सेवा प्रदायकहरुले आफ्ना सेवा दुर्गम ठाउँहरुसम्म विस्तार गर्दै जानुपर्ने हुन्छ।
यसरी शहरमा मात्र केन्द्रित नभइ गाउँगाउँसम्म मोबाइल सिग्नल पुर्याउनका लागि मोबाइल सेवा प्रदायकहरुले यस्ता बीटीएस उपकरणहरु विश्वका विभिन्न देशहरुबाट आयात गर्ने गर्दछन्।
त्यसैगरी देशभर फोरजी सेवाको बिस्तारका लागि टेलिकम अपरेटरहरु सशक्त भएर लागिरहेको र साथै नेपाल टेलिकम फाइभजीको परीक्षण सेवा शुरु गर्ने योजनामा रहेकाले बीटीएस टावर लगायत मोबाइल प्रविधिसँग सम्बन्धित थुप्रै प्रकारका उपकरणहरु निरन्तर रुपमा आयात भइरहन सक्छन्।
प्रकाशित: १७ बैशाख २०८३, बिहीबार