माडीको पर्यटन प्रवर्द्धनका लागि ‘एक्सप्लोर माडी’ पोर्टल सञ्चालनमा

  • Technology Khabar | १४ बैशाख २०८३, सोमबार
माडीको पर्यटन प्रवर्द्धनका लागि ‘एक्सप्लोर माडी’ पोर्टल सञ्चालनमा

काठमाडौं ।

चितवनको माडी उपत्यकाको समग्र जानकारी उपलब्ध गराउने उद्देश्यले माडी नगरपालिकाले ‘एक्सप्लोर माडी’ नामक पोर्टल सञ्चालनमा ल्याएको छ।

नगरपालिकाका सूचना अधिकारी प्रवीण भण्डारीका अनुसार उक्त पोर्टलमा माडीका पर्यटकीय सम्पदाबारे विश्वका विभिन्न भाषामा अनलाइन अनुवादसहित जानकारी उपलब्ध गराइएको छ।

पोर्टलमार्फत माडीका पर्यटकीय स्थल, धार्मिक क्षेत्र, प्राकृतिक आकर्षण, होमस्टे तथा फार्म स्टे, यातायातलगायतका विवरण सहज रूपमा प्राप्त गर्न सकिनेछ। साथै पोर्टलमा माडीमा हाल भइरहेका गतिविधि, मेला–महोत्सव तथा आगामी कार्यक्रमसम्बन्धी जानकारीसमेत समावेश गरिएको उनले बताए।

उनका अनुसार पोर्टलमा एआई प्रणालीसमेत समावेश गरिएको छ, जसमार्फत प्रयोगकर्ताले माडीबारे प्रत्यक्ष संवाद गर्न सक्नेछन्।

“नगरपालिकाले एक वर्षदेखि यसको तयारी गर्दै आएको थियो र नयाँ वर्षदेखि सञ्चालनमा ल्याइएको हो,” उनले भने, “हाल हामीले माडीका विभिन्न स्थानमा क्यूआर कोड राख्ने काम तथा होमस्टे सञ्चालक र अन्य सरोकारवालालाई पोर्टलसम्बन्धी जानकारी गराउने काम गरिरहेका छौँ ।” उनले यो पोर्टल माडीको समग्र अभिलेखका रूपमा रहने बताए।

यहाँ हाल सात वटा सामुदायिक होमस्टे सञ्चालनमा छन्। पर्यटन व्यवस्थापन र प्रवर्द्धनलाई सहज बनाउन माडी नगरपालिकाले सबै होमस्टेलाई युजर आइडी र पासवर्ड प्रदान गरेको छ।

यसै प्रणालीमार्फत होमस्टे सञ्चालनलाई डिजिटल रूपमा व्यवस्थित गर्ने प्रयास गरिएको हो । सो प्रणालीमार्फत पर्यटकले कोठा उपलब्धता, खाना–खाजाको दर, विभिन्न प्याकेजसम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् । साथै, सिधा सम्पर्कमार्फत बुकिङ तथा गुनासो राख्न सकिनेछ ।-रासस 

प्रकाशित: १४ बैशाख २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार