
काठमाडौं ।
आगामी आईफोन १८ प्रो, आईफोन १८ प्रो म्याक्स र आईफोन अल्ट्रा ( वास्तवमा आईफोन फोल्डले यो नाम प्राप्त गर्ने हल्ला छ) को आकारहरू देखाउने डमी युनिटहरू लीक भएका छन्। डमी युनिटहरू केस निर्माताहरूलाई पठाइएका सीएडी रेन्डरहरूको आधारमा सिर्जना गरिएका हुन्छन्। त्यसैले ती डमी युनिटहरूको समग्र आकार र आयामहरूका साथै क्यामरा आइल्याण्डहरूको सेप र साइज जस्ता सबैभन्दा महत्त्वपूर्ण विवरणहरू सामान्यतया सही हुन्छन्।
लीक भएको सामूहिक तस्बिरमा आईफोन अल्ट्रामा म्यागसेफ समर्थन हराइरहेको देख्न सकिन्छ भने यो निश्चित रूपमा एक रोचक कटौती हुने उल्लेख गरिएको छ। डिभाइसमा केवल म्यागसेफ बिनाको, वायरलेस चार्जिङ छ कि छैन, वा त्यसको पूर्ण रूपमा अभाव हुनेछ भनेर स्पष्ट रूपमा भन्न नसकिने बताइएको छ। आईफोन अल्ट्रामा केवल दुई क्यामराहरू रहेने भएका छन् र इतिहासको सबैभन्दा महँगो आईफोन भएको अफवाहलाई विचार गर्दा यो कुराले स्तब्ध पार्न सक्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ
माथिको तस्बिरको दायाँतर्फ आईफोन १८ प्रो म्याक्स डमी युनिटको छेउमा बायाँतर्फ आईफोन १७ प्रो म्याक्स डमी युनिट देख्न सक्छौं। आईफोन १८ प्रो म्याक्समा स्पष्ट रूपमा बाक्लो क्यामरा आइल्याण्डको साथ अपरिवर्तित डिजाइन रहेको देख्न सकिने छ। वास्तवमा, क्यामरा प्लेटु समावेश गर्दा आईफोन १८ प्रो म्याक्सको मोटाई ११.५४ एमएम हुनेछ (पूर्ववर्ती आईफोन १७ प्रो म्याक्सको मोटाई ११.२३ एमएम छ) भने क्यामराहरू समावेश गर्दा कुल मोटाई १३.७७ एमएम (आईफोन १७ प्रो म्याक्सको मोटाई १२.९२ एमएम छ) हुने भएको छ।
माथिको तस्बिरमा आईफोन अल्ट्रालाई अनफोल्ड गरिएको अवस्थामा आईफोन १७ प्रो म्याक्ससँग तुलना गरिएको देख्न सकिन्छ। अल्ट्राको स्क्रिनको चौडाइ मूलतः प्रो म्याक्सको लम्बाइ जस्तै भएको बताइएको छ र अल्ट्रा लम्बाइ १११.५ एमएम हुने भनिएको छ।
त्यसैगरी आईफोन अल्ट्राको डमी युनिटलाई अनफोल्ड गरिएको अवस्थामा आईप्याड मिनीसँग तुलनामा गरिएको छ। आईफोनको स्क्रिन सानो हुने भए तापनि डिभाइसमा पातलो किनाराहरू हुने भएकाले भिन्नता धेरै ठूलो नहुने उल्लेख गरिएको छ।
आगामी सेप्टेम्बरमा हुने एप्पलको वार्षिक कार्यक्रममा आईफोन १८ प्रो, आईफोन १८ प्रो म्याक्स र आईफोन अल्ट्रा सबै एकसाथ लन्च हुने हल्ला रहेको छ भने आईफोन १८, आईफोन १८ई र आईफोन एयर २ अर्को वसन्तमा मात्र आइपुग्नेछन्।
प्रकाशित: १४ बैशाख २०८३, सोमबार