
काठमाडौं ।
काभ्रेपलाञ्चोकको धुलिखेलमा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजना तथा नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशको समन्वयमा भएको दुईदिने ‘खोजमूलक पत्रकारिता तथा एआई’सम्बन्धी अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ।
बागमती प्रदेशका १३ जिल्लामा क्रियाशील पत्रकार महिलाका लागि प्रदेशभित्रका महिला पत्रकारको खोजमूलक समाचार लेख्ने क्षमता विकास गर्नुका साथै डिजिटल युगको नयाँ चुनौती र अवसरसँग परिचित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो।
समापन कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका अध्यक्ष कृष्णसारू मगरले अब पत्रकारिता क्षेत्र परम्परागत शैलीबाट मात्र चल्न सम्भव नहुने बताए। “खोजमूलक पत्रकारितामार्फत डिजिटल युगमा एआईजस्ता आधुनिक प्रविधिलाई आत्मसात् गर्दै आफ्ना पत्रकारितालाई केन्द्रित गर्नु आजको आवश्यकता हो”, उनले भने, “अझ त्यसमा पत्रकार महिलालाई प्रविधिमैत्री बन्न र सामाजिक विकासका मुद्दालाई गहिराइबाट उठाउन अभिमुखीकरण कार्यक्रमले मद्दत पुग्नेछ।”
कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव खुविराम अधिकारीले अहिले आयोजना गरेको कार्यक्रमलाई आगामी दिनमा पत्रकार महासङ्घ र सञ्चार क्षेत्रसँग समन्वय गरेर अझ परिस्कृत गर्दै लैजाने बताए। सामाजिक विकासका विभिन्न पक्षलाई नागरिकसम्म पुर्याउने कार्यमा पत्रकारको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्दै अगाडि बढ्नका लागि सहभागीलाई आग्रह गरे।
नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोद न्यौपानेले सिकेको कुरालाई व्यवहारमुखी बनाउन पत्रकारहरू लाग्नुपर्नेमा जोड दिए। पछिल्लो समयमा सामाजिक सञ्जालले पत्रकारिता क्षेत्रलाई प्रभाव पारिरहेको अवस्थामा अझ पत्रकार महिला पलायन हुने अवस्था रहेकाबेला अभिमुखीकरण कार्यक्रमले सशक्तीकरणमा बल पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा सहभागी पत्रकार अञ्जली तामाङले अभिमुखीकरण कार्यक्रम निकै प्रभावकारी भएको र आगामी दिनमा हुने तालिम कार्यक्रमको अवधिलाई अझ बढाएर विषयवस्तुमा केन्द्रित तालिमको आयोजना गर्न आग्रह गरिन्।
कार्यक्रममा सहभागी अर्का पत्रकार सरिता दाहालले महिला पत्रकारको सुरक्षा, चुनौती र सञ्चारमाध्यममा लैङ्गिक समानता तथा समावेशीकरणका विषयमा जानकारी गराइन्। त्यसैगरी पत्रकार महासङ्घका उपाध्यक्ष नितु पण्डितले पत्रकार आचारसंहिता, ‘फेक न्यूज’ र जिम्मेवार पत्रकारिताका विषयमा तथा अजय शर्माले पत्रकारितामा ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ को सहयोगमा सामग्री निर्माण र ‘भिजुअल’ सम्बन्धी विषयमा सहजीकरण गरेका थिए।
कार्यक्रममा बागमती प्रदेशका २१ पत्रकार महिलाको सहभागिता थियो। रासस
प्रकाशित: १२ बैशाख २०८३, शनिबार