
काठमाडौं ।
अनलाइन पत्रकार संघले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा हालै जारी गरिएको विज्ञप्ति प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सो विज्ञप्ति लोकतान्त्रिक व्यवस्थाको आधारस्तम्भका रूपमा रहेको स्वतन्त्र प्रेसमाथि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दबाब सिर्जना गर्ने, डर–त्रास देखाउने तथा विद्यमान कानुनी प्रावधानको आडमा अभिव्यक्ति स्वतन्त्रतालाई सीमित गर्ने प्रयत्नप्रति संघको स्पष्ट असहमति रहेको छ।
मन्त्रालयले मिथ्या तथा भ्रामक सूचना नियन्त्रण गर्ने नाममा सम्पूर्ण अनलाइन मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्तालाई लक्षित गरी जारी गरेको चेतावनीले स्वतन्त्र पत्रकारिताको अभ्यासमाथि नकारात्मक असर पार्ने देखिएको संघले भनेको छ।
“पत्रकारिता क्षेत्र आफैंमा आचारसंहिता, तथ्य पुष्टि र उत्तरदायित्वका मान्यताबाट निर्देशित हुन्छ। यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि संवाद, सहकार्य र संस्थागत संयन्त्र आवश्यक हुन्छ, न कि धम्कीपूर्ण शैली।” विज्ञप्तिमा भनिएको छ।
विद्युतीय कारोबार ऐन लगायतका प्रावधानहरू प्रयोग गरी सञ्चारमाध्यमलाई कारबाही गर्ने चेतावनीले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने सम्भावना बढाउने र यस्तो प्रवृत्तिले स्वतन्त्र अभिव्यक्ति, सूचनाको अधिकार तथा लोकतान्त्रिक मूल्य–मान्यतालाई कमजोर पार्ने खतरा रहेको संघको ठहर छ।
भ्रामक सूचना नियन्त्रणको नाममा सम्पूर्ण सञ्चार क्षेत्रलाई एकै ढंगले दोषारोपण गर्ने र दमनकारी उपाय अपनाउने भन्दा पनि पत्रकारिता क्षेत्रका सरोकारवालासँग परामर्श गरी उपयुक्त नीति तथा व्यवहार विकास गर्न अनलाइन पत्रकार संघ सरकारलाई आग्रह गरेको छ।

प्रकाशित: ११ बैशाख २०८३, शुक्रबार