
काठमाडौं ।
खगोलविदहरूले दुई अत्यन्त शक्तिशाली ब्ल्याक होल एकआपसमा घुम्दै ठूलो टक्करतर्फ बढिरहेको पत्ता लगाएका छन् जसको प्रभाव आउँदो शताब्दीभित्र महसुस हुन सक्ने बताइएको छ।
दशकौँसम्म रेडियो टेलिस्कोपबाट गरिएको अवलोकनका आधारमा वैज्ञानिकहरूले करिब ५० करोड प्रकाश वर्ष टाढा रहेको एक अत्यन्त चम्किलो वस्तुको अध्ययन गरेका थिए, जसलाई पहिले ब्लाजार मानिएको थियो।
तर अध्ययनले त्यो वस्तु वास्तवमा दुई ब्ल्याक होलको जोडी हो जसले ऊर्जा जेट उत्सर्जन गरिरहेका छन् र सम्भवतः १०० वर्षभन्दा कम समयमा आपसमा ठोक्किन सक्छन् भन्ने देखायो।
अध्ययनमा संलग्न म्याक्स-प्लाङ्क इन्स्टिच्युट फर रेडियो एस्ट्रोनोमीकी खगोलविद् सिल्के ब्रिट्जेनले भनिन्, “अन्ततः एउटा मात्र ब्ल्याक होल बाँकी रहने अपेक्षा छ। यो ‘नृत्य’ कसरी अगाडि बढ्छ भनेर हेर्न म निकै उत्सुक छु।”
यो अध्ययन मार्च २७ मा मन्थ्ली नोटिशेज अफ द रोयल एस्ट्रोनोमिकल सोसाइटी जर्नलमा प्रकाशित भएको हो।
ब्लेजार ब्रह्माण्डका सबैभन्दा चम्किला वस्तुमध्ये एक हुन्। यी सक्रिय ग्यालेक्टिक केन्द्र हुन्, जहाँ प्रायः विशाल ब्ल्याक होलले ऊर्जा जेट पृथ्वीको दिशामा पठाउँछन्। सामान्यतया एउटा ब्ल्याक होल नै यसको स्रोत हुन्छ, तर मर्करियन ५१० नामक ग्यालेक्सीमा देखिएको ब्लेजारमा भने फरक अवस्था भेटियो।
वर्षौँसम्म गरिएको अवलोकनमा जेटको दिशा फरक–फरक देखिएकाले यसको केन्द्रमा वास्तवमै एउटा मात्र ब्ल्याक होल छ कि छैन भन्ने स्पष्ट थिएन। त्यसलाई पुष्टि गर्न वैज्ञानिकहरूले १० रेडियो टेलिस्कोपको अन्तर्राष्ट्रिय सञ्जाल भेरी लङ बेसलाइन एरेका ८३ भन्दा बढी डाटासेट विश्लेषण गरेका थिए।
परिणामले एउटा मात्र जेट नभई अर्को जेट पनि रहेको देखायो जुन केन्द्र वरिपरि घुमिरहेको छ। अनुसन्धान टोलीका अनुसार यी दुईवटै जेट अलग–अलग ब्ल्याक होलबाट आएका हुन्, जसको तौल सूर्यको भन्दा १० करोडदेखि एक अर्ब गुणासम्म बढी छ।
ब्रिट्जेनले भनिन्, “दोस्रो जेट देख्नु अविश्वसनीय थियो। मलाई एकदमै अचम्म लाग्यो र यो खोज सबैलाई बताउन मन लाग्यो।”
२०२२ जुनमा यी दुई ब्ल्याक होल यति मिलेर आए कि पहिलो ब्ल्याक होलको गुरुत्वाकर्षणले दोस्रो जेटबाट आएको प्रकाशलाई मोडेर ‘आइन्स्टाइन रिङ’ बनायो। यसलाई गुरुत्वाकर्षण लेन्सिङ भनिन्छ, जसले यो जोडी ब्ल्याक होलको प्रमाणलाई अझ बलियो बनाउँछ।
यी दुई ब्ल्याक होल करिब प्रत्येक १२१ दिनमा एकअर्कालाई परिक्रमा गर्छन् र अहिले तिनीहरूबीचको दूरी पृथ्वी र सूर्यबीचको दूरीको २५० देखि ५४० गुणा मात्र छ, जुन खगोल विज्ञानको हिसाबले निकै नजिक मानिन्छ। समयसँगै यो दूरी घट्दै जानेछ र अन्ततः ती एकआपसमा विलय हुनेछन्।
वैज्ञानिकहरूका अनुसार यी ब्ल्याक होल ठोक्किएपछि अत्यन्त शक्तिशाली गुरुत्वाकर्षण तरङ्गहरू उत्पन्न हुनेछन्। यस्ता तरङ्गहरू अन्तरिक्ष–समयको संरचनामा हुने कम्पन हुन्, जुन पृथ्वीमा रहेका उपकरणहरूले पत्ता लगाउन सक्छन् र यसबाट ब्ल्याक होलहरूको विशेषताबारे नयाँ जानकारी प्राप्त हुन सक्छ।
प्रकाशित: ७ बैशाख २०८३, सोमबार