
काठमाडौं ।
मलेसियाका टेलिकम कम्पनीहरूले राष्ट्रिय फाइभजी नेटवर्क आफ्नो नियन्त्रणमा लिएका छन्। मलेसिया सरकारले देशको साझा फाइभजी होलसेल नेटवर्कमा रहेको आफ्नो सेयर मोबाइल अपरेटरहरूलाई बेचेर यस परियोजनाबाट लगभग पूर्ण रूपमा बाहिरिएको छ।
सरकारले गत वर्षको अन्त्यतिर डिजिटल नेजनल बर्हाद (डीएनबी) मा रहेको आफ्नो सेयर बेच्ने ‘पुट अप्सन’ प्रयोग गरेको थियो, जसका कारण बाँकी सेयरधनी कम्पनीहरूलाई ती सेयर किन्नु अनिवार्यजस्तै बन्यो।
म्याक्सिस र सेलकमडिजीले गत हप्ता स्टक एक्सचेन्जमा दायर गरेका विवरणमार्फत सरकारले राखेको सेयरको आफ्नो भागको रकम तिरेको पुष्टि गरेका छन्। दुवै कम्पनीले ३२७.८७ मिलियन रिंग्गिट ( लगभग करिब ८३.५ मिलियन अमेरिकी डलर) तिरेका छन्।
यस मोबाइल ब्रान्ड सञ्चालन गर्ने तेस्रो अपरेटर वाईटीएलले अझै एक्सचेन्जमा औपचारिक जानकारी दिएको छैन। तर पुट अप्सनका कारण उसले पनि सेयर किन्नैपर्ने हुन्छ।
टेलिकम्स डटकमका अनुसार यसले सुरुबाटै विभिन्न समस्याले घेरिएको फाइभजी होलसेल नेटवर्क परियोजनामा राज्यको प्रत्यक्ष संलग्नता समाप्त भएको वा समाप्त हुन लागेको देखाउँछ। अहिले देशका चारमध्ये तीन मोबाइल अपरेटरहरू उक्त नेटवर्कका मालिक बनेका छन्।
यो सुरुमा निकै रोचक योजना मानिएको थियो। मलेसियाको अघिल्लो सरकारले फाइभजी छिटो र प्रभावकारी रूपमा विस्तार गर्ने उद्देश्यले एउटै होलसेल नेटवर्क मोडेल अपनाउने निर्णय गरेको थियो। तर योजना सोचेअनुसार अघि बढ्न सकेन।
कोभिड-१९ महामारी, सरकारको पतन र टेलिकम कम्पनीहरूले उक्त पूर्वाधार प्रयोग गर्ने सम्झौतामा सामेल हुन हिचकिचाउनुजस्ता कारणले ठूलो ढिलाइ भयो।
यद्यपि पछि राज्य र टेलिकम कम्पनीबीच साझा स्वामित्वको मोडेल ल्याइएपछि परियोजना अन्ततः सुरु भयो। पाँच वर्षअघि परिकल्पना गरिएको पूर्ण राज्य-स्वामित्वको एकल नेटवर्क भने अब छैन, तर कम्तीमा मलेसियामा सञ्चालनमा रहेको फाइभजी नेटवर्क भने छ।
वास्तवमा अहिले देशमा दुई वटा फाइभजी नेटवर्क छन्। टेलिकम कम्पनीहरूको दबाबपछि थप पूर्वाधार प्रतिस्पर्धा ल्याउन सरकारले दोस्रो नेटवर्कको योजना स्वीकृत गर्यो र २०२४ को अन्त्यतिर मोबाइल अपरेटर यू मोबाइललाई त्यसको सञ्चालन जिम्मा दियो।
यो दोस्रो नेटवर्क गत गर्मीमा सञ्चालनमा आएको थियो। २०२५ नोभेम्बरसम्म यसले उच्च जनघनत्व भएका तीन बाहिरी क्षेत्र — बाङ्गी, पुत्रजया र पीजे न्यू टाउनमा सेवा दिएको छ र ३० भन्दा बढी भवनमा इण्डोर कभरेज उपलब्ध गराएको छ।
तर प्रारम्भिक नेटवर्क डीएनबी भने यसभन्दा धेरै अगाडि छ। कम्पनीका अनुसार यसले देशका ८० प्रतिशतभन्दा बढी बसोबास भएका क्षेत्रमा कभरेज पुर्याइसकेको छ, जुन तथ्य उसले लामो समयदेखि दोहोर्याउँदै आएको छ।
टेलिकम कम्पनीहरूले भने फाइभजी प्रयोगकर्ताको संख्या सार्वजनिक गर्न चाहेका छैनन्। बजारमा अग्रणी सेलकमडीजीले आफूलाई मलेसियाको सबैभन्दा ठूलो फाइभजी सेवा प्रदायक बताउँछ, तर यस दाबीलाई तथ्यांकले पुष्टि गरेको छैन। अन्य प्रतिस्पर्धी कम्पनीहरू पनि फाइभजी सम्बन्धी प्रगति सार्वजनिक गर्न हिचकिचाइरहेका छन्।
यसले फाइभजी सेवाको प्रयोग अपेक्षाअनुसार तीव्र नभएको संकेत दिन्छ, जुन सम्भवतः देशमा फाइभजी पूर्वाधार स्थापना भएको तरिकालाई हेर्दा असामान्य पनि होइन।
टेलिकम कम्पनीहरूले सरकारको सेयर किनेर नियन्त्रण लिँदा डीएनबीका लागि नयाँ अध्याय सुरु भएको छ। तर अब सबै कुरा सहज हुने अपेक्षा गर्नु उनीहरूका लागि सजिलो नहुन सक्छ। उदाहरणका लागि टेलिकम मलेसिया (टीएम) सँग अहिले विवाद चलिरहेको छ, जसले डीएनबीसँगको होलसेल सम्झौता समाप्त गर्न खोजिरहेको छ।
गत महिना टीएमले यू मोबाइलसँग होलसेल सम्झौता गरेको घोषणा गर्दै डीएनबीसँगको सम्झौता तोड्ने अधिकार प्रयोग गर्ने जनाएको थियो। टीएम र डीएनबीबीचको सम्झौता २०३२ सम्म कायम रहने थियो।
तर डीएनबीले टीएमले प्रारम्भिक समाप्तिका लागि आवश्यक सर्त पूरा नगरेको भन्दै सम्झौता तोड्ने प्रयास अस्वीकार गरेको छ।
यस विषयमा अब कानुनी विवाद हुने सम्भावना देखिएको छ, जुन अपरेटरहरूबीच कुनै सहमति नभएसम्म जारी रहन सक्छ। त्यसैले डीएनबीका नयाँ मालिकहरूका लागि यो सुरुवात धेरै सहज देखिँदैन।
प्रकाशित: २८ फाल्गुन २०८२, बिहीबार