स्पोटिफाईको मासिक सक्रिय प्रयोगकर्ताहरूको संख्या ७५ करोडभन्दा बढी पुग्यो

  • Technology Khabar | २ फाल्गुन २०८२, शनिबार
स्पोटिफाईको मासिक सक्रिय प्रयोगकर्ताहरूको संख्या ७५ करोडभन्दा बढी पुग्यो
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

स्पोटिफाईले २०२५ को चौथो त्रैमासिकमा ७५ करोड १० लाख मासिक सक्रिय प्रयोगकर्ताहरू (एमएयू) पुगेको घोषणा गरेको छ। रेकर्ड कायम गरेको हालको यो संख्याले गत वर्षको तुलनामा ११ प्रतिशतको वृद्धि र तेस्रो त्रैमासिकमा ७१ करोड ३० लाख दर्ता भएका प्रयोगकर्ताहरूबाट उल्लेखनीय वृद्धिलाई प्रतिनिधित्व गर्दछ।

त्रैमासिक आम्दानी रिपोर्टले प्रिमियम ग्राहकहरूको संख्यामा वर्षिक रुपमा १० प्रतिशतले वृद्धि भएको र २६ करोड ३० लाखबाट २९ करोड पुगेको देखाएको छ। स्विडेनी कम्पनीको प्रिमियम ग्राहकहरूको सबैभन्दा ठूलो हिस्सा युरोपमा छ (३६ प्रतिशत) रहेको छ भने उत्तर अमेरिका दोस्रो स्थानमा छ (२५ प्रतिशत) रहेको टेलिग्राफले रिपोर्ट गरेको छ।

स्पोटिफाईले आफ्नो वृद्धिको लागि आर्टिफिसियल इन्टेलिजेन्ससहित धेरै कारकहरूलाई श्रेय दिएको छ।

“हामी आफूलाई संगीत उद्योगको अनुसन्धान र विकास विभाग ठान्छौं। हाम्रो काम नयाँ प्रविधिहरू द्रुत रूपमा बुझ्नु र तिनीहरूको क्षमताको उपयोग गर्नु हो, जुन हामीले पहिले धेरै पटक गरिसकेका छौं। यो उल्लेखनिय परिवर्तनबाट सम्पूर्ण उद्योगले लाभ उठाउनेछ, तर हामी विश्वास गर्छौं कि यो परिवर्तनलाई अँगाल्ने र छिटो काम गर्नेहरूले सबैभन्दा बढी फाइदा उठाउनेछन्,” स्पोटिफाईका सह–सीईओ गुस्ताभ सोडरस्ट्रोमले भने।

२०२५ को अन्त्यमा, स्पोटिफाईले आफ्नो प्लेटफर्मबाट केही एआई “कस्टमाइजेसन” हटाउने र “एआई संगीत उत्पादनहरू मुख्यतया कलाकारहरूमा केन्द्रित हुनेछन्,” भनि घोषणा गरेको थियो। यद्यपि यो बारे थप विवरणहरू अस्पष्ट रहेको उल्लेख गरिएको छ।

कम्पनीले ३० करोडभन्दा बढी प्रयोगकर्ताहरू संलग्नता र ५६ भाषाहरूमा ६३ करोड सेयरहरूका साथ डिसेम्बरको स्पोटिफाई र्याप्ड अहिलेसम्मकै सबैभन्दा ठूलो भएको दाबी गरेको छ।

प्रकाशित: २ फाल्गुन २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...