सबै मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली अनिवार्य: सञ्चारमन्त्री खरेल

  • Technology Khabar | २५ पुष २०८२, शुक्रबार
सबै मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली अनिवार्य: सञ्चारमन्त्री खरेल
फाइल तस्बिर

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस) अनिवार्य गराउने गरी काम गर्न सूचना प्रविधि विभागलाई निर्देशन दिएका छन्।

सञ्चार मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले मन्त्रालयको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन सबै मन्त्रालय र निकायलाई कागजरहित बनाउनुपर्नेमा जोड दिए।

सञ्चारमन्त्री खरेलले भने, “अहिलेकै कार्यकालमा जिआइओएमएसलाई हरेक मन्त्रालयमा अनिवार्य गराउनेगरी काम गर्न आग्रह गर्दछु, यसले सेवा प्रभावकारिता र सुशासन कायम गर्न मद्दत गर्नेछ।” उनले सुशासनसहित मुलुकको विकास र आर्थिक समृद्धिका लागि सूचना प्रविधिको महत्वपूर्ण भूमिका रहने भएकाले विभागलाई नीतिगत र संरचनागत सुधार गरिनुपर्नेमा जोड दिए।

हाल अर्थ मन्त्रालय र सञ्चार मन्त्रालयले जिआइओएमएस लागू गरिसकेका छन्। सरकारी निकायबाट सम्पादन हुने कार्यलाई एउटै सूचना प्रविधि प्रणालीमार्फत सरल, सहज, छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारी सम्पादन गरी कागजरहित बनाउने सरकारको अवधारणालाई कार्यान्वयन गर्न यो प्रणाली सुरु गरिएको जनाइएको छ।

सूचना प्रविधि विभागद्वारा विकास गरिएको यो प्रणाली प्रयोगगरी विद्युतीयमाध्यमबाट तोक आदेश तथा टिप्पणी निर्णय, चिठीपत्रको दर्ता तथा चलानी, हाजिरी, बिदा र काज स्वीकृत, अभिलेख व्यवस्थापनलगायत अनिवार्य रुपमा विद्युतीय हस्ताक्षरको प्रयोग गरी सम्पादन गर्नुपर्ने व्यवस्था गरिएको छ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री खरेलले निर्धारित मितिमा निर्वाचन हुने र त्यसपछि बन्ने संसद् र सरकारमा युवाको वर्चश्व हुने भएकाले मुलुकको सूचना प्रविधि क्षेत्रको विकासका निम्ति महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले विभागको कामलाई बढी प्रविधिमैत्री एवं सेवालाई चुस्त र प्रभावकारी बनाउन आग्रह गरिन्। सूचना प्रविधि विभागका महानिर्देशक श्रीचन्द्र साहले विभागलाई नीतिगत र संरचनागत सुधार गरी सेवालाई प्रविधिमैत्री बनाइने विश्वास व्यक्त गरे।

प्रकाशित: २५ पुष २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘InnoVision’ wins Mid-Valley’s ‘Build Nepal Hackathon 2026’, ‘Sentinaz’ named runner-up

  • Technology Khabar
  • २५ पुष २०८२, शुक्रबार