सामसङले २० हजार एमएएच क्षमताको डुअल–सेल सिलिकन–कार्बन ब्याट्री परीक्षण गरिरहेको दावी

  • Technology Khabar | १८ पुष २०८२, शुक्रबार
सामसङले २० हजार एमएएच क्षमताको डुअल–सेल सिलिकन–कार्बन ब्याट्री परीक्षण गरिरहेको दावी

काठमाडौं ।

चिनियाँ ब्रान्डका स्मार्टफोनहरूमा ८ हजार एमएएच वा त्यसभन्दा ठूलो ब्याट्री क्षमताको प्रयोग बढ्दै गएको बेला सामसङले अझ ठूलो क्षमताको ब्याट्री परीक्षण गरिरहेको दावी बाहिरिएको छ।

एक टिप्स्टरका अनुसार सामसङ एसडीआईले स्मार्टफोनका लागि २० हजार एमएएच क्षमताको डुअल–सेल सिलिकन–कार्बन ब्याट्री परीक्षण गरिरहेको छ।

सामसङ सामान्यतया आफ्ना स्मार्टफोनमा ठूलो ब्याट्री क्षमतामा आक्रामक रूपमा नजाने ब्रान्डका रूपमा चिनिन्छ। यसको पछिल्लो फ्ल्यागशिप ग्यालेक्सी एस२५ अल्ट्रामा समेत ५ हजार एमएएच क्षमताको ब्याट्री प्रयोग गरिएको छ। तर उक्त दावी अनुसार सामसङ एसडीआईले हाल २० हजार एमएएच क्षमताको डुअल–सेल सिलिकन–कार्बन ब्याट्री परीक्षण गरिरहेको छ।

टिप्स्टरका अनुसारयो डुअल–सेल सेटअपमा ६.३ मिलिमिटर मोटाइको १२ हजार एमएएच ब्याट्री र ४ मिलिमिटर मोटाइको ८ हजार एमएएच ब्याट्री समावेश छ। परीक्षणका क्रममा उक्त ब्याट्रीले करिब २७ घण्टाको स्क्रीन–अन टाइम र वार्षिक करिब ९६० चार्ज साइकल हासिल गरेको बताइएको छ।

तर परीक्षणको अन्तिम नतिजा भने सकारात्मक नभएको दावी गरिएको छ। परीक्षण सम्पन्न भएपछि ब्याट्री फुल्ने समस्या देखिएको बताइएको छ, जसले दीर्घकालीन टिकाउपनमाथि प्रश्न उठाएको छ। अर्को टिप्स्टरका अनुसार ८ हजार एमएएच क्षमताको सेलको मोटाइ ४ मिलिमिटरबाट बढेर ७.२ मिलिमिटर पुगेको थियो।

यद्यपि यो जानकारी पूर्ण रूपमा विश्वासयोग्य स्रोतबाट नआएकाले सावधानीपूर्वक लिनुपर्ने बताइएको छ। साथै यो ब्याट्री स्मार्टफोनभन्दा पनि विद्युतीय सवारीसाधन (ईभी) का लागि परीक्षण गरिएको हुन सक्ने सम्भावना पनि नकारिएको छैन।

प्रकाशित: १८ पुष २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...