Technology Khabar २२ मंसिर २०८२, सोमबार
काठमाडौं ।
अमेरिकाका एक संघीय न्यायाधीशले अमेरिकी न्याय विभाग (डीओजे) ले गुगलविरुद्ध दायर गरेको एन्टिट्रस्ट मुद्दामा तय गरिएका उपायहरू थप विस्तार गर्दै गुगल सर्च र एआई सेवालाई उपकरणहरूमा डिफल्ट बनाउने सम्झौतामा एक वर्षको समयसीमा राख्ने निर्णय गरेका छन्। यसबारे ब्लूमबर्गले रिपोर्ट गरेको हो।
इन्ग्याजेटका अनुसार न्यायाधीश अमित मेहताको शुक्रबारको फैसला अनुसार अब गुगलले यस्ता सम्झौता हरेक वर्ष नवीकरण गर्नुपर्नेछ जसले प्रतिस्पर्धी कम्पनीहरूका लागि निष्पक्ष वातावरण बनाउन मद्दत गर्नेछ। यो विवरण मेहताले सेप्टेम्बरमा डीओजेले मागेजस्तो क्रोम बेच्न गुगललाई बाध्य पार्न नपर्ने फैसला गरेपछि आएको हो।
यसअघि गत वर्ष आएको फैसलामा गुगलले आफ्नो सर्च–इन्जिनलाई डिफल्ट बनाउने उद्देश्यले एप्पलजस्ता कम्पनीलाई ठूलो रकम तिरेर इन्टरनेट सर्चमा अवैध रूपमा एकछत्र राज कायम गरेको ठहर गरिएको थियो। साथै सर्च, क्रोम र जेमिनीजस्ता सेवाहरू वितरण गर्न गुगलले गरेका विशेष सम्झौताहरू पनि गैरकानुनी भन्दै अदालतले रद्द गरेको थियो।
सेप्टेम्बरको निर्णयले यी सबै विशेष सम्झौताहरू समाप्त गर्यो र गुगलले आफ्नो केही सर्च डाटा प्रतिद्वन्द्वीहरूलाई पनि दिनुपर्ने व्यवस्था गर्यो ताकि कम्पनीले वर्षौंदेखि बनाएको “स्केलको ठूलो अन्तर” कम गर्न सकियोस्।
प्रकाशित: २२ मंसिर २०८२, सोमबार