ताजा समाचार

एयरबस ए३२० सिरिजका १०० भन्दा कम विमान अझैपनि ग्राउन्डेड, अधिकांश विमानमा आवश्यक परिमार्जन पूरा

एयरबस ए३२० सिरिजका १०० भन्दा कम विमान अझैपनि ग्राउन्डेड, अधिकांश विमानमा आवश्यक परिमार्जन पूरा
जापानको अल निप्पोन एयरवेज (एएनए) एयरबस ए३२१नियो यात्रुवाहक विमान नोभेम्बर २९, २०२५ मा टोकियोको हानेदा विमानस्थलमा टार्माकमा
Global IME Bank

एयरबसले आफ्नो ए३२० सिरिजका १०० भन्दा कम विमानहरू अझै पनि तत्काल आवश्यक सफ्टवेयर अद्यावधिकका कारण ग्राउन्डेड रहेको पुष्टि गरेको छ।

गत हप्ता छ हजार जेटहरूमा असर पर्न सक्ने चेतावनी जारी गरेपछि उठेको चिन्ताबीच कम्पनीले अधिकांश विमानमा आवश्यक परिमार्जन पूरा भइसकेको स्पष्ट गरेको हो। एयरबसद्वारा जारी विज्ञप्तिमा ‘विशाल बहुमतका विमानहरूले आवश्यक संशोधन पाइसकेका छन्।

बाँकी १०० भन्दा कम विमानलाई पनि यथाशीघ्र सेवामा फर्काउन हामी एयरलाइन्स ग्राहकहरूसँग नजिकबाट समन्वय गर्दैछौँ’ भन्ने उल्लेख गरिएको छ।

युरोपको शीर्ष विमान निर्माताले केही दिनअगाडि नै आफ्ना ग्राहकहरूलाई सफ्टवेयर प्रतिस्थापनका लागि ‘तत्काल सावधानी अपनाउन’ आग्रह गरेको थियो। यस चेतावनीले सयौँ विमान लामो समयसम्म ग्राउन्डेड रहने आशङ्का पैदा गरे पनि अधिकांश युरोपेली एयरलाइन्सहरूले असर न्यूनतम रहेको जनाएका छन्।

तर कोलम्बियाली एयरलाइन्स अभियाङ्काले भने आफ्नो कुल फ्लीटको ७० प्रतिशत प्रभावित भएकाले आगामी १० दिनसम्म उल्लेखनीय अवरोध आउने भन्दै डिसेम्बर ८ सम्म टिकट बिक्री स्थगित गरेको छ।

एयरबसले अक्टोबरमा एउटा जेटब्लु उडानमा देखिएको प्राविधिक समस्याको समीक्षा गरेपछि यो चेतावनी जारी गरेको हो। तीव्र सौर्य विकिरणले उडान नियन्त्रण प्रणालीका लागि महत्त्वपूर्ण डाटामा असर पुर्याउन सक्ने सम्भावना देखिएपछि सफ्टवेयर फिक्स अनिवार्य गरिएको कम्पनीले जनाएको छ। रासस/एएफपी

Sajilo Visa
easy care