
काठमाडौं ।
गुल्मीमा राहदानी वितरणमा ढिलाइ हुँदा सेवाग्राही मर्कामा पर्न थालेका छन्। विगतमा आवेदन दिएको १५ दिनभित्रै राहदानी जिल्ला प्रशासन कार्यालयमा आइपुग्थ्यो तर अहिले तीन महिना नाघिसक्दा पनि राहदानी नआउने समस्या देखिएको छ।
कालीगण्डकी गाउँपालिका- १, हर्मीचौरका कृष्ण पाण्डेले भदौ २३ गते राहदानीका लागि आवेदन दिएका थिए। अधिकतम एक महिनाभित्र पासपोर्ट आउँछ भन्ने विश्वासमा विदेश यात्राको तयारी गरेका उनले हालसम्म राहदानी नपाएपछि काठमाडौं नै जानुपर्ने अवस्था आएको बताए।
उनले भने, “अब त वैदेशिक रोजगारीका लागि आवेदन दिनसमेत वैदेशिक रोजगारीका लागि आवेदन दिनसमेत ढिलो भइसक्यो।”
गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार भदौ ८ गतेदेखि हालसम्मका राहदानी जिल्लामा आएका छैनन्। उनले जेनजी आन्दोलनका क्रममा राहदानी विभागको प्रणालीमा समस्या आएको, विभिन्न जिल्लामा बनेका राहदानीका केही भाग जलेकाले त्यसको व्यवस्थापन गर्न समय लागेको जानकारी दिए।
राहदानी शाखाका कम्प्युटर अपरेटर सन्देश अधिकारीका अनुसार भदौ ८ गतेदेखि हालसम्म दुई हजारभन्दा बढी व्यक्तिले राहदानीका लागि आवेदन दिएका छन्। गत सातामात्रै २२३ जनाले नयाँ राहदानीका लागि आवेदन दिएका छन्।
जिल्ला प्रशासन कार्यालय गुल्मीको तथ्याङ्क अनुसार गत आइतबारदेखि शुक्रबारसम्मको पाँच दिनमा २२३ राहदानी आवेदन सङ्कलनका साथै २७ राहदानी वितरण भएका छन्।
सोही अवधिमा नयाँ नागरिकता २७९, नागरिकता प्रतिलिपि १६६, नाबालक परिचयपत्र १५. राष्ट्रिय परिचयपत्र आवेदन ६३७ र वितरण ३६४ पुगेको छ।
आजको गोरखापत्रबाट
प्रकाशित: २५ कार्तिक २०८२, मंगलवार