होराइजन रोबोटिक्ससँग मिलेर चीनका स्मार्टकारमा लाग्ने चिप उत्पादन गर्दै फक्सवागन

Technology Khabar २० कार्तिक २०८२, बिहीबार

होराइजन रोबोटिक्ससँग मिलेर चीनका स्मार्टकारमा लाग्ने चिप उत्पादन गर्दै फक्सवागन
Global IME Bank

काठमाडौं ।

फक्सवागनले बुधबार चीनको होराइजन रोबोटिक्ससँगको संयुक्त लगानी कम्पनी कारिजोनमार्फत कम्पनीले चीनका लागि आफ्नै पहिलो स्मार्ट ड्राइभिङ चिप विकास गर्ने घोषणा गरेको छ। यो चिप फक्सवागनका आगामी पुस्ताका सवारीसाधनहरूमा प्रयोग गरिनेछ।

कम्पनीका अनुसार उक्त चिप कारमा रहेका क्यामेरा र सेन्सरबाट आउने डाटा प्रशोधन गर्न प्रयोग हुनेछ, जसको कम्प्युटिङ क्षमता प्रति सेकेन्ड करिब ५०० देखि ७०० टेरा अपरेसन (टीओपीएस) रहनेछ। फक्सवागनले यो उत्पादन तीनदेखि पाँच वर्षभित्र बजारमा ल्याउने लक्ष्य राखेको जनाएको छ।

रोयटर्सका अनुसार यो कदमले “चीनमा, चीनका लागि” अनुसन्धान तथा विकास क्षमतालाई अझ सुदृढ बनाउने फक्सवागनको भनाइ छ। तर कम्पनीले यो चिप चीनबाहेकका सवारीसाधनमा पनि प्रयोग गर्नेछ कि भन्ने विषयमा स्पष्ट विवरण दिएको छैन। उत्पादन व्यवस्थापनबारे पनि कम्पनीले केही खुलाएको छैन।

फक्सवागनले चीनमा आफ्नो बजारस्थिति सुधार्ने प्रयास गर्दै आएको छ, विशेषगरी स्थानीय कम्पनीहरूसँग मिलेर नयाँ प्रविधि विकास गरेर उत्पादन प्रतिस्पर्धात्मकता बढाउने उद्देश्यले। यसका लागि कम्पनीले चिनियाँ इलेक्ट्रिक कार निर्माता एक्सपेङसँगको सहकार्य पनि विस्तार गरेको छ, जसअन्तर्गत चीनमा थप मोडेलहरूको इलेक्ट्रोनिक आर्किटेक्चर संयुक्त रूपमा विकास गरिँदैछ।

फक्सवागनको चीनमा वार्षिक बिक्री सन् २०१८ मा ४ मिलियन युनिटभन्दा बढीबाट घटेर २०२४ मा २.७५ मिलियन युनिटमा पुगेको छ। सन् २०२३ मा फक्सवागनले चीनको सबैभन्दा बढी बिक्री हुने ब्रान्डको उपाधि चिनियाँ प्रतिस्पर्धी बीवाईडीलाई गुमाएको थियो। पछिल्ला पाँच वर्षमा बीवाईडीले सस्तो दरका पूर्ण विद्युतीय र प्लग-इन हाइब्रिड मोडेलमार्फत ऐतिहासिक रूपमा आफ्नो बजार विस्तार गरेको छ।

प्रकाशित: २० कार्तिक २०८२, बिहीबार

Sajilo Visa
तपाइको प्रतिक्रिया