एन्थ्रोपिकले गुगलसँगको सम्झौता विस्तार गर्दै कम्पनीका दर्जनौँ अर्ब डलर मूल्यका कृत्रिम बुद्धिमत्ता (एआई) चिपहरू प्रयोग गर्ने भएको छ। यो सम्झौताअन्तर्गत एन्थ्रोपिकले गुगलका करिब १० लाख एआई चिपहरूको पहुँच पाउनेछ, जसको प्रयोग कम्पनीले प्रतिस्पर्धात्मक बजारमा आफ्नो क्लाउड च्याटबोटलाई अझ उन्नत बनाउन गर्नेछ।
बिहीबार सार्वजनिक गरिएको सम्झौताअनुसार एन्थ्रोपिकले सन् २०२६ देखि सुरु हुने एक गिगावाटभन्दा बढी कम्प्युटिङ क्षमताको पहुँच पाउनेछ, जसको प्रयोग कम्पनीले गुगलका टेन्सर प्रोसेसिङ युनिट्समा आफ्नो आगामी पुस्ताका क्लड मोडेलहरू प्रशिक्षणका लागि गर्नेछ।
यी टीपीयूहरू पहिले गुगलको आन्तरिक प्रयोगका लागि मात्र राखिँदै आएका थिए। एन्थ्रपिकले टीपीयू रोज्नुको कारण यसको मूल्य–प्रदर्शन अनुपात, ऊर्जा दक्षता र कम्पनीको यसअघि टीपीयूमा क्लड मोडेल तालिम दिने अनुभव रहेको बताएको छ।
यो सम्झौता एआई उद्योगमा चिपको अत्यधिक माग देखाउने पछिल्लो उदाहरण हो, जहाँ कम्पनीहरू मानवीय बुद्धिमत्तासँग मेल खाने वा त्यसलाई पार गर्ने प्रविधि विकास गर्न दौडिरहेका छन्।
अल्फाबेट–स्वामित्वको गुगलले आफ्ना टीपीयूहरू गुगल क्लाउडमार्फत भाडामा उपलब्ध गराउँदै आएको छ, जसले आपूर्ति सीमित एनभिडिया चिपको विकल्पका रूपमा काम गर्छ। गुगलले एन्थ्रोपिकलाई थप क्लाउड कम्प्युटिङ सेवा पनि उपलब्ध गराउनेछ।
प्रतिद्वन्द्वी ओपनएआईले हालै करिब २६ गिगावाट कम्प्युटिङ क्षमता सुरक्षित गर्न एक ट्रिलियन डलरभन्दा बढी मूल्यका सम्झौता गरेको छ जुन करिब २ करोड अमेरिकी घरधुरीलाई विद्युत् आपूर्ति गर्न पर्याप्त हुने बताइन्छ।
रोयटर्सका अनुसार उद्योगका अधिकारीहरूले एक गिगावाट कम्प्युटिङ क्षमताको लागत करिब ५० अर्ब डलर पर्न सक्ने बताएका छन्। च्याटजीपीटी निर्माता ओपनएआई हाल एनभिडिया र एएमडीका एआई चिपहरू प्रयोग गरेर बढ्दो माग पूरा गर्दै आएको छ।
एन्थ्रोपिकले एआई सुरक्षामा जोड दिँदै व्यवसायिक प्रयोगका लागि मोडेल विकास गर्दै आएको छ। यसको मोडेलहरूले कर्सरजस्ता “भाइब कोडिङ” स्टार्टअपहरूको वृद्धिमा पनि सहयोग पुर्याएका छन्।
